close

कोसी अस्पतालमा वायोग्यास प्लान्ट

कोसी अस्पतालमा वायोग्यास प्लान्ट

Trulli
ADVERTISEMENT

मोरङ– विराटनगरस्थित कोसी अस्पतालले अस्पतालबाट निस्कने प्रयोग गर्न मिल्ने फोहोर व्यवस्थापन गर्दै वायोग्यास उत्पादन सुरु गरेको छ । अस्पतालबाट निस्किने फोहोरको उचित व्यवस्थापन गर्दै अस्पतालले वायोग्यास प्लान्ट सञ्चालनमा ल्याएको हो ।

 

अस्पताल परिसरभित्र छुट्टै प्लान्ट निर्माण गरेर अहिले वायोग्यास उत्पादन सुरु गरिएको अस्पतालकी फोहोरमैला व्यवस्थापन संयोजक नर्सिङ अधिकृत सोनी सुवेदीले बताइन् । अस्पतालबाट दैनिक निस्किने विभिन्न प्रकारका फोहोर प्रशोधन गरेर वायोग्यास उत्पादन थालिएको उनको भनाइ छ ।


‘अस्पतालबाट निस्किने फोहोर जथाभावी फाल्ने गरिएको थियो । फोहोरको उचित व्यवस्थापन गर्ने योजना बनेपछि अहिले भण्डारण गरी राख्ने गरिएको छ । त्यसैबाट वायोग्यास बनाउन सुरु गरिएको हो,’ संयोजक सुवेदीले भनिन् । अस्पतालको उत्तरपट्टिको खाली जमिनमा वायोग्यास प्लान्ट निर्माण गरिएको छ । अस्पतालबाट निस्किने फोहोर प्रशोधन गर्ने आउटलेट ६ घनमिटर क्षमताको छ ।

 

अस्पतालले निकालेको वायोग्यास प्रयोग गरी उपकरण र औजारको निर्मलीकरण गर्ने तयारी सुरु गरिएको उनले बताइन् । ‘वायोग्यास उत्पादन भएपछि चिकित्सक र स्वास्थ्यकर्मीले बिरामीलाई प्रयोग गर्ने औजारको निर्मलीकरण यही वायोग्यासको प्रयोगबाट गर्ने तयारी छ,’ उनले भनिन्, ‘त्यसका लागि छुट्टै भवन निर्माण भइरहेको छ ।’ 

 

छुट्टै घर निर्माण गरी उपकरणको निर्मलीकरणका साथै अन्य विभिन्न काम गर्न सकिने अस्पतालका मेसु डा. चुमनलाल दासले बताए । ‘यसअघि अस्पतालबाट निस्किने फोहोर जथाभावी फाल्ने गरिएको थियो । वायोग्यास प्लान्टको तयारी गरेपछि फोहोर बाहिर लैजान वा फाल्न दिइएको छैन,’ मेसु दासले भने, ‘अस्पतालबाट निस्किने फोहोरको उचित व्यवस्थापन गरी वायोग्यास उत्पादन सुरु गरेका छौँ ।’


अस्पतालको ५ लाख र ऊर्जा मन्त्रालयको ५ लाख रुपैयाँ लागत साझेदारीमा उक्त वायोग्यास प्लान्ट निर्माण भएको हो । उक्त प्लान्ट निर्माणको ठेक्का भगवती गोबर ग्यासले पाएको थियो ।