close

बाँकेका ८ वटै पालिकामा कुष्ठरोगी बिरामी पहिचान

बाँकेका ८ वटै पालिकामा कुष्ठरोगी बिरामी पहिचान

Trulli
ADVERTISEMENT

बाँके– नेपालमा १२ वर्षअघि नै कुष्ठरोग उन्मूलन भएको सरकारले घोषणा गरे पनि बाँकेमा अस्वाभाविक रूपमा नयाँ बिरामी देखिन थालेका छन् । बाँकेमा प्रति १० हजारमा १ दशमलव ५९ प्रतिशतमा कुष्ठरोगी फेला परेका हुन् । चालू आर्थिक वर्षको चौमासिकमै यो संख्या थप बढेको हो । चौमासिकमा १ दशमलव ८३ प्रतिशत पुगेको छ ।

 

बाँकेमा कुष्ठ रोग जनस्वास्थ्य समस्याका रूपमा रहेको संकेत गरेको छ । अझै पनि समुदाय स्तरमा मानिस कुष्ठ रोग बोकेर बसिरहेको तथ्यांकले देखाएको छ । गत वर्ष मात्रै बाँकेमा १२८ जना नयाँ कुष्ठ रोगी फेला परेका थिए । चालू आर्थिक वर्षको चौमासिकमा मात्रै ७२ जना नयाँ कुष्ठरोगी फेला परेका थिए । स्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग फोकल पर्सन मानव नेपालीका अनुसार बाँकेका ८ वटै पालिकामा कुष्ठरोगीका बिरामी पहिचान भएका छन् ।

 


आर्थिक वर्ष ०७७/७८ मा जानकी गाउँपालिकामा ३२, नेपालगन्जमा २७, नरैनापुरमा २०, कोहलपुरमा १५, खजुरा र डुडुवामा १२–१२, बैजनाथमा ७ र राप्तीसोनारीमा ३ जना कुष्ठरोगी फेला परेका छन् । यस्तै, चालू आर्थिक वर्षमा जानकीमा ४८, नेपालगन्जमा ६, कोहलपुर र बैजनाथमा ७–७, खजुरामा ३ र नरैनापुरमा १ जना फेला परेका छन् । 


जानकी गाउँपालिकाका केही वडा कुष्ठरोगको ‘हटस्पट’ नै बनेको छ । गत आवमा ३२ जना कृष्ठरोगी पहिचान भएको जानकीमा चालू आवको चौमासिकमै ४८ जना फेला परेपछि जानकी हटस्पट बनेको हो । फेला परेका कुष्ठरोगीमध्ये ६ दशमलव २५ प्रतिशत बालबालिका छन् । भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि बाँँकेमा कुष्ठरोग जनस्वास्थ्य समस्याका रूपमा रहेको छ ।


कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने गर्छ । यो रोगले खासगरी छाला, नसामा असर गर्छ । छालामा असर गर्दा शरीरमा नचिलाउने, छुँदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने, गिर्खा देखा पर्नुका साथै स्नायुमा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने हुन्छ र विस्तारै मांसपेशी कमजोर बनाइदिन्छ ।


समयमै कुष्ठरोगको उपचार हुन नसके अपांगता हुने र ज्यानसमेत गुमाउन सक्ने जोखिम हुने नेपालीको भनाइ छ । बेलैमा उपचार गर्न र रोग नलुकाउन उनले नागरिकलाई आग्रह गरे ।