close

निसीखोलामा १० शय्याको अस्पताल बन्दै

निसीखोलामा १० शय्याको अस्पताल बन्दै

Trulli
ADVERTISEMENT

बागलङ–बागलुङको निसीखोला गाउँपालिकामा १० शय्याको पालिकास्तरीय आधारभूत अस्पताल निर्माण सुरु भएको छ । संघीय सरकारको देशका सबै पालिकामा १५, १० र ५ शय्याको पालिका अस्पताल निर्माण गर्ने नीतिअनुसार पालिकाभित्र अस्पताल बनाउन लागिएको हो ।

 

गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले निसीखोला वडा नम्बर ४ झिम्पामा अस्पतालको नयाँ भवन बनाउन सुरु भएकोे जानकारी दिए । हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले ८ करोड २४ लाख रुपैयाँमा आगामी ०८० पुसमा सम्पन्न गर्ने गरी भवन बनाउन ठेक्का सम्झौता गरेको छ ।

 

भवन निर्माणपछि निसीखोलाबाटै स्थानीयलाई विशेषज्ञमार्फत स्वास्थ्य सेवा उपलब्ध गराइनेछ । भवन बनाउन गाउँपालिकाले केही समयअघि ८ रोपनी निःशुल्क जग्गा प्राप्त गरेको थियो । अस्पताल बनाउन ७ रोपनी २ आना जग्गा आवश्यक पर्ने मापदण्डमा उल्लेख छ । स्थानीयले भवन बनाउन जग्गा प्रदान गरेपछि गाउँपालिकाले गत वर्ष नै अस्पतालको शिलान्यास गरेको थियो । गत वर्ष शिलान्यास भएको अस्पतालको निर्माण बल्ल सुरु भएको हो ।

 

अस्पताल विशेषगरी गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६ का नागरिकलाई पायक पर्नेछ । विशेषज्ञसहित स्वास्थ्य सेवा सुरु हुन थालेपछि निसीखोलाका नागरिकलाई स्वास्थ्योपचार सहज हुने पालिका अध्यक्ष पौडेलले जानकारी दिए ।