close

सबै विद्यालयमा स्यानिटरी प्याड वितरण गर्दै भरतपुर महानगर

सबै विद्यालयमा स्यानिटरी प्याड वितरण गर्दै भरतपुर महानगर

Trulli
ADVERTISEMENT

चितवन–चितवनको भरतपुर महानगरले आफू मातहतका सबै विद्यालयमा स्यानिटरी प्याड वितरण सुरु गरेको छ । महानगरले ७४ विद्यालयका छात्राका लागि ४ लाख १० हजार ९० प्याकेट स्यानिटरी प्याड वितरण सुुरु गरेको हो ।


 
महानगरले पहिलो चरणमा १ लाख ८० हजार प्याकेट स्यानिटरी प्याड वितरण गरेको छ । लंकु स्रोत केन्द्रअन्तर्गतका ६ कक्षामाथि सञ्चालन भएका १८ विद्यालयलाई छात्रा संख्याका आधारमा प्रतिछात्रा १५ प्याकेटका दरले स्यानिटरी प्याड वितरण गरिएको छ । भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिलाई प्याड हस्तान्तरण गरिन् । 

 

दोस्रो चरणमा आउने प्याड अन्य विद्यालयलाई हस्तान्तरण गरिने ठकुरीले जानकारी दिइन् । उनले यसको प्रयोगसँगै फोहोर व्यवस्थापनमा ख्याल गर्न विद्यार्थीलाई आग्रह गरिन् ।

 

महिनावारी भएका बेला विद्यालय जान छात्रालाई असहज हुने भएकाले विद्यालयमै स्यानिटरी प्याडको व्यवस्थापन गर्न सके छात्राको विद्यालयमा निरन्तरता गराउन सहज हुने ठकुरीको भनाइ छ ।
 

भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले विगतदेखि नै स्यानिटरी प्याड वितरण गर्ने योजना भए पनि खरिद प्रक्रियाले ढिलाइ भएको बताए । बोलपत्र आह्वान गरेर खरिद गर्दा समय लागेको उनले जानकारी दिए । घटिघटाउमा ९२ लाख ६३ हजार ३९९ रुपैयाँमा बोलपत्र सम्झौता भएर स्यानिटरी प्याड खरिद गरिएको हो ।