close

स्वास्थ्यमन्त्री खतिवडाले सार्वजनिक गरे १०० दिने फेहरिस्त

३४ लाख बालबालिकालाई लगाइँदै खोप 

स्वास्थ्यमन्त्री खतिवडाले सार्वजनिक गरे १०० दिने फेहरिस्त

३४ लाख बालबालिकालाई लगाइँदै खोप 

Trulli
ADVERTISEMENT

काठमाडौं–स्वास्थ्यमन्त्री विरोध खतिवडाले शुक्रबार १०० दिने कार्यप्रगति सार्वजनिक गरेका छन् । खतिवडा गत २२ असोजमा स्वास्थ्यमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणा गरेको ‘खोप, खोप र खोप’ अभियानलाई सफल बनाउन मन्त्रालयको सम्पूर्ण संयन्त्र परिचालित भएको र कोभिड–१९ विरुद्धको खोप अभियान राष्ट्रव्यापी रूपमा सञ्चालन गरिएको खतिवडाले बताए । 

 


१२ देखि १७ वर्ष उमेर समूहका करिब ३४ लाख बालबालिकालाई खोप दिन सुरु गरिएको र विगतमा जोखिममा रहेका गर्भवती महिलालाई मात्र खोप दिइएकामा अहिले सबै गर्भवतीलाई दिने नीति अपनाइएको मन्त्रालयले जनाएको छ । यस्तै, ५–११ वर्ष उमेर समूहको बालबालिकालाई समेत कोभिड–१९ विरुद्धको खोप दिन खोपको उपलब्धता सुनिश्चितता भएको पनि मन्त्रालयले बताएको छ । 

 

मन्त्रालयका अनुसार ०७८ असोजसम्म लक्षित जनसंख्याको एक तिहाइलाई पूर्ण खोप लगाउने लक्ष्य हासिल भइसकेको छ । २७ माघ ०७८ सम्म १२ वर्षभन्दा माथिको लक्षित जनसंख्याको ७७ प्रतिशतलाई पहिलो मात्रा र ६९ प्रतिशतलाई पूर्ण खोप दिइएको छ । ०७९ वैशाख मसान्तसम्म लक्षित जनसंख्या सबैलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप प्रदान गर्ने लक्ष्य निर्धारण गरिएको र त्यसका लागि आवश्यक पर्ने खोपको मौज्दात सुनिश्चित गरिसकिएको मन्त्रालयले बताएको छ ।

 

हाल खोप लगाउने दरलाई हेर्दा यो लक्ष्य तोकिएको मितिभन्दा अगावै प्राप्त हुने अवस्था रहेको मन्त्रालयको दाबी छ । ०७८ मंसिरदेखि कोभिड–१९ विरुद्धको खोप अभियान देशव्यापी नियमित सञ्चालन भइरहेको छ । ६५ वर्षमाथिको उमेर समूह, दीर्घ रोगीलाई लक्षित गरी बुस्टर डोज दिइँदै आएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ ।


खोपको पहुँच नपुगेका स्थान र समुदायको पहिचान गरी प्रदेश र स्थानीय सरकारको नेतृत्वमा खोप अभियान सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ । ठूला अस्पताल र जनघनत्व बढी भएका सहरका विभिन्न सार्वजनिक स्थानमा खोप केन्द्र निर्धारण गरेर दैनिक खोप लगाइँदै आएको छ ।


मन्त्रालयका अनुसार खोप लगाएको क्यूआर कोडसहितको प्रमाणपत्र स्थानीय तहबाट उपलब्ध गराउन सुरु गरिएको छ । २७ माघ ०७८ सम्म १२ वर्षमाथिको लक्षित जनसंख्याको ७७ प्रतिशतलाई पहिलो मात्रा र ६९ प्रतिशतलाई पूर्ण खोप लगाइसकिएको छ । मन्त्रालयका अनुसार हालसम्म ४ करोड ६५ लाख ७० हजार ७२० खोपको मात्रा प्राप्त भएको छ भने खोप लगाएको मात्रा ३ करोड ४८ लाख २५ हजार ६०१ रहेको छ । 

 

कोभिड–१९ संक्रमितको उपचार व्यवस्थापनका लागि अक्सिजन प्लान्ट, अक्सिजन सिलिन्डर, आइसियु बेड, बेडको संख्या वृद्धि गरी अस्पतालको क्षमता वृद्धि गरिएको मन्त्रालयको विवरणमा उल्लेख छ ।  कोभिड–१९ युनिफाइड अस्पताल (वीर अस्पताल) मा २४ सै घन्टा (११३३) सेवा मार्फत परामर्श सेवा दिन सुरु गरिएको छ ।


भारतसँग सीमाना जोडिएका प्रवेश बिन्दुमा स्थापित हेल्थ डेस्कको क्षमता वृद्धि गरी दैनिक नेपाल प्रवेश गर्नेमध्ये ९० प्रतिशतको स्क्रिनिङ भइरहेको तथा स्क्रिनिङ भएकामध्ये ८७ प्रतिशतभन्दा धेरैको कोभिड–१९ को परीक्षण भइरहेको मन्त्रालयले बताएको छ ।  दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यले सरकार र विकास साझेदारको संयुक्त पहलमा नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना, २०७९÷२०८६ तर्जुमा कार्य सुरु गरिएको मन्त्रालयको भनाइ छ । 


नेपालमा पहिलोपल्ट संघ, प्रदेश र स्थानीय गरी ३ वटै तहमा जनगणना २०७८ मा आधारित मातृमृत्यु अध्ययन सम्पन्न गरिएको छ । मन्त्रालयका अनुसार यो अवधिमा २२०० आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन निर्माण, जर्मन विकास बैंकको सहयोगमा जिरी, रामेछाप र गोर्खामा सुविधासम्पन्न अस्पताल भवन निर्माण भएका छन् । ५, १०, १५ बेडका २२६ वटा आधारभूत अस्पतालको टेन्डर प्रक्रिया भई निर्माण सुरु भएको छ ।