close

बाँकेको जानकी गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण सुरु

बाँकेको जानकी गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण सुरु

Trulli
ADVERTISEMENT

राँझा– बाँकेको जानकी गाउँपालिकाले १५ शय्याको आधारभूत अस्पताल निर्माण सुरु गरेको छ । जानकी–४ खजुराखुर्दमा अस्पतालको भवन निर्माण कार्य सुरु गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिइन्  । 

 

मधेसी र मुस्लिम समुदायका नागरिकको बाहुल्यता रहेको गाउँपालिकामा जनतालाई पायक पर्ने स्थानमा स्वास्थ्य सेवा लिन पाउने अधिकारको सुनिश्चितताका लागि अस्पताल निर्माण गर्न लागिएको उनले बताइन् । हरेक नागरिकलाई सुलभ र निःशुल्क स्वास्थ्य सेवा दिनु स्थानीय र सङ्घीय सरकारको कर्तव्य भएकाले अस्पताल निर्माण गरिएको जानकारी दिँदै उनले अस्पतालबाट नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने आफूले विश्वास लिएको बताइन् ।

 

दुई वर्षमा १५ शय्याको आधारभूत अस्पताल निर्माण कार्य सम्पन्न गर्ने गरी यही माघ २३ गते निर्माण कम्पनीसँग सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिइन् । उक्त अस्पताल निर्माणको जिम्मा भरतपुर चितवनको हिम सगरमाथा÷अनक जेभीले पाएको छ ।

 

उनका अनुसार अस्पताल निर्माणका लागि गाउँपालिकाले रु १७ करोड ५४ लाखमा बोलपत्र खोलेकामा सो निर्माण कम्पनीले करसहित रु ११ करोड ४४ लाखमा बोलपत्र पाएको हो । निर्माण कम्पनीका इन्जिनियर सुनिल पोखरेलले सम्झौता समयावधिभन्दा अगावै निर्माण सम्पन्न गरिने बताए । अस्पताल निर्माण भएसँगै जानकी गाउँपालिकावासी स्वास्थ्य सेवा लिन बाहिर जानु नपर्ने गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक दलबहादुर रानाले बताए । 

 

प्राथमिक स्वास्थ्य उपचारका लागि अहिले गाउँपालिकाका ६ वटै वडामा स्वास्थ्य चौकी सञ्चालनमा रहे पनि थप उपचारका लागि नेपालगञ्ज पुग्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।