close

जानकी पालिकामा १५ शय्याको अस्पताल बन्दै

जानकी पालिकामा १५ शय्याको अस्पताल बन्दै

Trulli
ADVERTISEMENT

बाँके–बाँकेको जानकी गाउँपालिकाले १५ शय्याको आधारभूत अस्पताल निर्माण सुरु गरेको छ । पालिकाको वडा नम्बर ४ खजुराखुर्दमा अस्पताल भवन निर्माण सुरु गरिएको पालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले बताए ।

 

अस्पताल निर्माणपछि मधेसी र मुस्लिम समुदायका नागरिकको बाहुल्य रहेको पालिकाबासीले पायक पर्ने स्थानमा स्वास्थ्य सेवा लिन पाउनेछन् । हरेक नागरिकलाई सुलभ र निःशुल्क स्वास्थ्य सेवा दिनु स्थानीय र संघीय सरकारको कर्तव्य भएकाले अस्पताल निर्माण गरिएको उनको भनाइ छ । उनले अस्पतालबाट नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे ।

 

दुई वर्षमा १५ शय्याको आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने गरी २३ माघमा निर्माण कम्पनीसँग सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले बताए । उक्त अस्पताल निर्माणको जिम्मा भरतपुर चितवनको हिम सगरमाथा÷अनक जेभीले पाएको छ ।

 

उनका अनुसार अस्पताल निर्माणका लागि गाउँपालिकाले १७ करोड ५४ लाखमा बोलपत्र खोलेकामा निर्माण कम्पनीले करसहित ११ करोड ४४ लाख रुपैयाँमा बोलपत्र पाएको हो । निर्माण कम्पनीका इन्जिनियर सुनील पोखरेलले सम्झौता समयावधिअगावै निर्माण सम्पन्न गरिने बताए ।  अस्पताल निर्माण भएसँगै जानकी गाउँपालिकाबासी स्वास्थ्य सेवा लिन बाहिर जानु नपर्ने गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक दलबहादुर रानाले बताए ।

 

प्राथमिक स्वास्थ्य उपचारका लागि अहिले गाउँपालिकाका ६ वटै वडामा स्वास्थ्य चौकी सञ्चालनमा रहे पनि थप उपचारका लागि नेपालगञ्ज पुग्नुपर्ने बाध्यता छ ।