close

पूर्वाधारसम्पन्न हुँदै झापाका स्वास्थ्य इकाइ

पूर्वाधारसम्पन्न हुँदै झापाका स्वास्थ्य इकाइ

Trulli
ADVERTISEMENT

झापा– झापाका स्थानीय तहमा अत्याधुनिक प्रयोगशाला सेवा सुरु भएसँगै क्षेत्र १ का सामुदायिक स्वास्थ्य इकाइ थप सुविधासम्पन्न भएका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत मेचीनगरका विभिन्न ८ वडा र बुद्धशान्ति गाउँपालिकाको ३ वडामा रहेका ४ सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनार्थ आवश्यक प्रयोगशाला उपकरण उपलब्ध गराइएको छ ।  ‘सामुदायिक स्वास्थ्य संस्थालाई सुविधासम्पन्न बनाउन सामग्री प्रदान गरिएको हो,’ सांसद राम कार्कीले भने, ‘यसबाट नागरिकले घरगाउँमै सेवा पाउनुका साथै संविधान प्रदत्त स्वास्थ्यको अधिकार सुनिश्चिततामा सहयोग पुग्नेछ ।’

 


अघिल्लो आर्थिक वर्ष ०७७÷७८ को योजनाअनुरूप गत साउनमा ५७ लाख रुपैयाँ बराबरको प्रयोगशाला सामग्री उपलब्ध गराइएको सांसद कार्कीका स्वकीय सचिव शिबु बुढाथोकीले जानकारी दिए । तीमध्ये मेचीनगरका ६ वडालाई हेमाटोलोजी एनालाइजर (पार्ट थ्री) मेसिन दिइएको छ । यसले एकैपटक धेरै नमुना परीक्षण गर्न सकिन्छ । 

 

मेचीनगर वडा नम्बर ११ को स्वास्थ्य इकाइ धाइजन, वडा नम्बर १४ को स्वास्थ्य इकाइ दुहागढी, वडा नम्बर १० को स्वास्थ्य इकाइ धुलाबारी, वडा नम्बर १५ को स्वास्थ्य इकाइ ज्यामिरगढी, वडा नम्बर ६ को स्वास्थ्य इकाइ काँकडभिट्टा र वडा नम्बर ४ को स्वास्थ्य इकाइ बाहुनडाँगीलाई हेमाटोलोजी एनालाइजर उपलब्ध गराइएको हो ।

 

मेचीनगरका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले नगरका ११ वडाका स्वास्थ्य इकाइमा अत्याधुनिक प्रयोगशाला सेवा सञ्चालन हुन लागेको बताइन् । ‘३ वटा स्वास्थ्य इकाइमा सेवा सुरु भइसकेको छ,’ उनले भने, ‘थप ८ वडामा सेवा सञ्चालन गर्न कर्मचारी दरबन्दीको काम भइरहेको छ । यसै साताभित्र कर्मचारी नियुक्ति गरेर सेवा सुरु हुनेछ ।’ 

 

हेमाटोलोजी ‘एनालाइजर मेसिन’ महँगो र अत्याधुनिक भएकाले प्रयोगशाला परीक्षणको नतिजा गुणस्तरीय आउने उनको भनाइ छ । अब वडास्तरका स्वास्थ्य इकाइबाटै अत्याधुनिक प्रयोगशाला सुविधा प्राप्त हुने भएपछि प्रयोगशाला सेवाका लागि अन्यत्रै धाउनुपर्ने स्थानीयको बाध्यता हट्नेछ ।

 

त्यस्तै, साझेदारी कार्यक्रमअन्तर्गत मेचीनगरका १६ विद्यालयलाई ७० लाख, भद्रपुर नगरपालिका ४ विद्यालयका लागि २० लाख र बुद्धशान्तिका ६ विद्यालयलाई ३० लाख रुपैयाँ बजेट प्रदान गरिएको छ ।