close

इन्द्रावतीले बनायो सुविधासम्पन्न अस्पताल

इन्द्रावतीले बनायो सुविधासम्पन्न अस्पताल

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक–सिन्धुपाल्चोकको इन्द्रावती पालिकाबासीलाई सामान्य स्वास्थ्य सेवा लिन लामो बाटो पार गरेर चौतारा, मेलम्ची, धुलिखेल, काठमाडौं पुग्नुपर्ने बाध्यता हटेको छ ।

 

२५ हजार ५ सय १८ जनसंख्या रहेको इन्द्रावती गाउँपालिकामा १२ वटा वडा छन् । विगतमा सामान्य रगत परीक्षणदेखि एक्सरे गर्न अन्यन्त्र जानुपर्ने बाध्यता स्थानीयमा थियो । तर, अहिले गाउँपालिकाको केन्द्र नवलपुरमा १५ शैय्याको अस्पताल बनेपछि अब त्यो बाध्यता हटेको छ ।
नवलपुर प्राथमिक अस्पतालमा सेवा लिन आएकी रमा अधिकारी भन्छिन्, ‘ओपिडीमा गएर डाक्टरलाई भेटेँ । एक्सरे र रगत परीक्षण गर्न पाउँदा खुसी छु । पहिले यही कामका लागि धुलिखेल पुग्नुपथ्र्यो ।’

 
गाउँपालिकाको प्रशासकीय भवनसँगै रहेको प्राथमिक अस्पताल बागमती प्रदेश सरकारको सहयोगमा बनेको हो । नवलपुर बजारमै ३ रोपनी क्षेत्रफलमा १५ शैय्याको नवलपुर प्राथमिक अस्पताल निर्माण सम्पन्न भई सेवा दिन सुरु गरेको छ । आइतबार बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले अस्पताल उद्घाटन गरे  । मन्त्री लामाले अस्पतालका लागि आवश्यक जनशक्ति र उपकरण जुटाउन स्वास्थ्य मन्त्रालयमार्फत व्यवस्थापन गर्दै जाने बताए ।


अस्पतालमा दुई एमबीबीएस डाक्टरसहित चिकित्सक, मेडिकल, एक्सरे, ल्याब, इमर्जेन्सी वार्ड, अपरेटिङ, माइनर, इसीजीजस्ता सबै अत्यावश्यक प्राथमिक सेवा सञ्चालनमा ल्याइएको इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले बताए । 

 

प्राथमिक अस्पताललाई व्यवस्थित ढंगले सञ्चालन गर्न एमडिजिपी डाक्टर, प्रशासनिक कर्मचारीसहित २१ जना कर्मचारी आवश्यक पर्ने हुँदा यसको व्यवस्थापनमा प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्ने अध्यक्ष तामाङको भनाइ छ ।

 

५ करोड ६० लाख रुपैयाँमा ठेक्कामा निर्माण गरिएको अस्पताल भवन न्यु ड्रागन पवित्र मल्टिपल डेभिड कम्पनीले २ वर्षमा ५ करोड ७८ लाख लागतमा निर्माण पूरा गरेको इन्जिनियर राजाराम घोरासैनीले जानकारी दिए ।

 

३५ कोठा रहेको अस्पताल भवनमा ३० जना बिरामी राख्ने क्षमता छ । इन्द्रावती गाउँ कार्यपालिका सदस्यसमेत रहेकी मनकुमारी तामाङ जनशक्ति र उपकरणमा स्वास्थ्यमन्त्रीले विशेष जोड दिए नागरिकले पाउने सेवा–सुविधामा पहुँच पुग्ने बताउँछिन् ।