close

सिन्धुलीका ४६ वडा एम्बुलेन्सविहीन

सिन्धुलीका ४६ वडा एम्बुलेन्सविहीन

Trulli
ADVERTISEMENT

सिन्धुली–सिन्धुलीका ४६ वटा वडा एम्बुलेन्सविहीन छन् । जिल्लाका ९ वटै स्थानीय तहमा गरी ७९ वटा वडा रहेकामा हालसम्म ३३ वटा वडामा मात्र एम्बुलेन्स सुविधा छ ।

 

यी सबै वडामा गरी १०७ वटा सरकारी स्वास्थ्य संस्था छन् । तीमध्ये ३२ वटा वडामा रहेका सरकारी स्वास्थ्य संस्थामा एम्बुलेन्स सुविधा रहेको सम्बन्धित पालिकाले जनाएका छन् । सुनकोसी गाउँपालिकाका सबै वडा एम्बुलेन्स सेवाको पँहुचभित्र छन् ।

 

७ वटा वडा रहेको सो पालिकामा सबै वडामा एम्बुलेन्स सुविधा रहेको गाँउपालिका अध्यक्ष दीपाकुमारी बोहराले जानकारी दिइन् । सो पालिकामा ७ वटै वडामा गरी ११ वटा सरकारी स्वास्थ्य संस्था रहेको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

 

जिल्ला सदरमुकामसमेत रहेको कमलामाई नगरपालिकाका १४ मध्ये वडा नम्बर १, ३, ६, ८, ९, र ११ मा गरी ६ वटा वडामा मात्रै एम्बुलेन्स सुविधा छ । कमलामाई नगरपालिकामा १४ वटा सरकारी स्वास्थ्य संस्था रहेको नगरपालिका स्वास्थ्य शाखा संयोजक सुरेश पासवानले बताए । ती वडामा भएको एम्बुलेन्सबाटै नजिकका वडाका बासिन्दाले सुविधा लिएको उनको भनाइ छ ।


तीनपाटन गाउँपालिकाका ११ वटा वडामध्ये वडा नम्बर १ र ११ मा रहेका प्राथमिक स्वास्थ्य केन्द्रमा गरी २ वटा वडामा मात्रै एम्बुलेन्स सुविधा छ । गाउँपालिका अध्यक्ष कर्णबहादुर थापाले बाँकी ९ वटा वडामा एम्बुलेन्स सेवा उपलब्ध नभएको र सबै वडामा गरी १७ वटा सरकारी स्वास्थ्य केन्द्र रहेको बताए ।


फिक्कल गाउँपालिकाका ६ वटा वडामध्ये वडा नम्बर २ र ५ मा एम्बुलेन्स सुविधा छ । गोलन्जोर गाउँपालिकाका ७ मध्ये वडा नम्बर ३ मा मात्रै एम्बुलेन्स सुविधा छ । फिक्कलमा ६ वटा र गोलन्जोरमा १२ वटा स्वास्थ्य संस्था रहेको सम्बन्धित पालिकाले जनाएका छन् ।

 

गोलन्जोर गाउँपालिका वडा नम्बर ७ लाई दिएको एम्बुलेन्स दुर्घटनामा परी क्षतिग्रस्त भएको र त्यसपछि त्यसलाई मर्मत गर्न नसकिएको गाउँपालिका अध्यक्ष पुष्पबहादुर कार्कीले जानकारी दिए ।

 

दुधौली नगरपालिकाका १४ मध्ये वडा नम्बर १, ५, ६, ९, ११, १२, १३ र १४ मा एम्बुलेन्स सुविधा छ । उक्त नगरपालिकामा १६ वटा सरकारी स्वास्थ्य संस्था छन् ।

 

घ्याङलेख गाउँपालिकाका ५ वडामध्ये वडा नम्बर ३ मा मात्रै एम्बुलेन्स सुविधा रहेको र १० वटा सरकारी स्वास्थ्य संस्था रहेको गाउँपालिका अध्यक्ष जगतबहादुर भोलनले बताए । गाउँपालिकाले एम्बुलेन्स खरिद गर्न खोजेपछि कागजपत्र मिलाउने झन्झटिलो प्रक्रिया रहेकाले समस्या भएको उनको भनाइ छ । मरिण गाउँपालिकाका ७ मध्ये वडा नम्बर ३, ६ र ७ मा मात्रै एम्बुलेन्स सुविधा छ ।

 

हरिहरपुरगढी गाँउपालिकाका ८ मध्ये २, ४ र ७ नम्बर वडमा मात्रै एम्बुलेन्स सुविधा छ । मरिणमा ९ वटा र हरिहरपुरगढीमा ११ वटा सरकारी स्वास्थ्य संस्था रहेको सम्बन्धित पालिकाले जनाएका छन् ।