close

पूर्ण खोपयुक्त पालिका बन्दै चाँगुनारायण

पूर्ण खोपयुक्त पालिका बन्दै चाँगुनारायण

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रभित्र कोभिड–१९ विरुद्धको पूर्ण खोप अभियान सुरु गरेको छ । नगरपालिकाको वडा नम्बर १ देखि ९ नम्बर वडाका १२ वर्षमाथि उमेरका सबै नागरिकलाई कोरोनासविरुद्धको पहिलो र दोस्रो खोप पूरा गराएर कोरोनाविरुद्धको पूर्ण खोपयुक्त पालिका घोषणा गर्ने अभियान थालिएको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।

 


नगरपालिकालाई कोरोनाविरुद्धको पूर्ण खोपयुक्त पालिका घोषणा गर्ने उद्देश्यले नगरले घरधुरी सर्वेक्षण सुरु गरेको छ । नगरपालिकामा रहेका ७२ स्वयंसेवक र ७२ स्वयंसेविका गरी १४४ जनालाई ९ वटै वडामा खटाएर नगरपालिकाले खोप लगाउन कोही छुट भए÷नभएको, सबैले पहिलो र दोस्रो मात्रा खोप लगाए÷नलगाएको, नलगाएको भए तत्कालै खोप लगाउने व्यवस्था नगरपालिकाले गरेको छ ।

 

नगरपालिकाले खोप लगाउन छुटेका अपांगता, असहाय, ज्येष्ठ नागरिक, स्वास्थ्य केन्द्रसम्म जान नसक्नेलाई घरघरमै स्वास्थ्यकर्मी पठाएर खोप लगाउने र स्वास्थ्य संस्थासम्म आउन सक्नेलाई त्यहीँ ल्याएर खोप लगाउने व्यवस्था गरेको उनले बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईंले नगरमा स्थायी, अस्थायी र बसाइँसराइ गरी आएका नागरिकलाई समेत खोपको व्यवस्था गरिएको जानकारी दिए । पर्यटकीय क्षेत्र भएकाले यहाँ आएका विदेशी नागरिकलाई समेत खोप व्यवस्था गरिएको उनको भनाइ छ ।

 

नगरपालिकाले अस्थायी रूपमा बसेका इँटाभट्टाका कामदार, १२ वर्षमाथिका बालबालिका एवं कामदारलाई समेत भट्टामै गएर खोप लगाउने व्यवस्था गरेको छ । कोही पनि नागरिक खोपबाट वञ्चित हुन नपरोस् भनेर अभियान सञ्चालन गरिएको उनले बताए ।

 

चिकित्सकले कोरोनाविरुद्धको खोप लगाउनुहुँदैन भनेबाहेकका सबै नागरिकलाई खोप व्यवस्था गरिएको र दोस्रो मात्राको खोप पूरा गरेकालाई तेस्रो मात्रा अर्थात् बुस्टर खोप लगाउन थालिएको उनले जानकारी दिए ।

 

नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख सत्यराम दुवालले यसअघि ७७ हजार जनसंख्या रहेको नगरपालिकामा हालै सार्वजनिक गरिएको जनगणनाअनुसार ८८ हजार जनसंख्या पुगे पनि अहिलेसम्म नगरभित्र बसोबास गर्ने १ लाख ५ हजारलाई पूर्ण खोप दिइएको बताए । अबको चार दिनभित्र टोलटोलमा खटिएका स्वयंसेवकबाट खोपबारे थप तथ्यांक आउने उनको भनाइ छ ।

 


नगरले आगामी २७ फागुनमा नगरपालिका स्थापना दिवसमा एकैपटक कोरोनाविरुद्धको पूर्ण खोपयुक्त र बालमैत्री स्थानीय शासन लागू गर्दै बालमैत्री नगरपालिका घोषणा गर्ने नगरप्रमुख मिश्रले जानकारी दिए ।

 

बालमैत्री स्थानीय शासन लागू गर्न चालू आव ०७८/८९ का लागि नगरपालिकाले करिब १ करोड २० लाख रुपैयाँ बजेट खर्चिएर ९ वटै वडामा बाल क्लब गठन, बाल सञ्जाल गठन, घरधुरी सर्वेक्षण, बालमैत्री विद्यालयलगायत सरकारले निर्धारण गरेका ५१ वटा सूचक प्राप्तिका लागि प्रत्येक वडाका काम तीव्र पारेको छ ।