close

मध्य नेपालमा गर्भवती लक्षित ग्रामीण अल्ट्रासाउन्ड सेवा

मध्य नेपालमा गर्भवती लक्षित ग्रामीण अल्ट्रासाउन्ड सेवा

Trulli
ADVERTISEMENT

लमजुङ–लमजुङको मध्य नेपाल नगरपालिकाले नगरभित्रका गर्भवती महिलालाई लक्षित गर्दै ग्रामीण अल्ट्रासाउन्ड सेवा सुरु गरेको छ ।  नगरपालिकाले स्वास्थ्य संस्थामा गर्भजाँच गराउन आउने महिलालाई लक्षित गरी अल्ट्रासाउन्ड मेसिन खरिद गरी सेवा सञ्चालन गरेको हो ।

 

नगरपालिका प्रमुख रमेशकुमार पाण्डेका अनुसार आइतबारबाट सो सेवा सञ्चालन गरिएको छ । गर्भवती अवस्थामा आमा र बच्चाको स्वास्थ्य अवस्था बुझ्न भिडियो एक्सरे गर्न आवश्यक रहेकाले उक्त सेवा थालिएको हो ।

 

गर्भवतीलाई कम्तीमा दुई पटक निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्न ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम थालिएको उनले जानकारी दिए । ‘गाउँमा अल्ट्रासाउन्ड सुविधा नहुँदा आमा र बच्चाको स्वास्थ्यबारे बुझ्न समस्या भयो । स्थानीय कतिपय निजी अस्पतालमा महँगो शुल्क तिर्न बाध्य भए । कतिलाई सरकारी अस्पताल टाढा भएकाले धेरै खर्च हुन्थ्यो,’ पाण्डेले भने, ‘गर्भावस्था महत्त्वपूर्ण समय भएकाले यसमा चासो दिएका हौंँ । अब गाउँका महिलालाई सेवा दिनेछौँ ।’

 

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद पौडेलका अनुसार आइतबार भार्लेटार स्वास्थ्य चौकीबाट यो सेवा सुरु गरिएकोे छ । नगरपालिका प्रमुख पाण्डेले स्वास्थ्य चौकीका अनमी सुनिता रायमाझीलाई अल्ट्रासाउन्ड मेसिन प्रदान गरे । ग्रामीण अल्ट्रासाउन्ड मेसिन नगरपालिकाले ५ लाख रुपैयाँमा खरिद गरेको उनले बताए । एउटा मेसिन गण्डकी प्रदेश सरकारले सहयोग गरेको उनको भनाइ छ ।

 

वडामा मेसिन लगेर आवश्यकताअनुसार घुम्ती रूपमा गर्भवतीको स्वास्थ्य जाँच गरिने स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए । एक महिनाको फरकमा हरेक वडामा पुगेर सेवा प्रवाह गर्ने योजना रहेको उनले जानकारी दिए ।

 

नगरपालिकाले गर्भवती महिलालाई प्रयोगशालाको पनि सुविधा दिएको छ । रम्घा स्वास्थ्य चौकी, चिसंकु स्वास्थ्य चौकी र भोर्लेटार स्वास्थ्य चौकीबाट उक्त सेवा प्रवाह भएको नगरपालिकाको भनाइ छ । नगरपालिकाले गर्भवती आमा तथा नवजात शिशुका लागि निःशुल्क एम्बुलेन्स सेवा दिँदै आएको छ ।