close

ज्याम्दीमा सहरी स्वास्थ्य सेवा केन्द्र उद्घाटन

ज्याम्दीमा सहरी स्वास्थ्य सेवा केन्द्र उद्घाटन

Trulli
ADVERTISEMENT

काभ्रे– काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १२ स्थित ज्याम्दीमा सहरी स्वास्थ्य सेवा केन्द्र उद्घाटन गरिएको छ । नगरप्रमुख टोकबहादुर वाइबाले उक्त केन्द्र उद्घाटन गरे ।

 


सरकारको नीतिअनुसार हरेक वडामा एउटा स्वास्थ्य संस्था रहने प्रावधान भए पनि भौगोलिक अवस्था हेरी स्थानीय सरकारले थप सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउन पाउने भएसँगै भेगीय आवश्यकता हेरेर नगरको वडा नम्बर १२ स्थित देउरालीमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।


मण्डनदेउपुरबासीको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासमा नगरपालिकाले पहल गरिरहेको उनको भनाइ छ । नगरपालिकाले जनस्वास्थ्यलाई थप सबलीकरण गर्न सरकारले निःशुल्क उपलब्ध गराएको ३५ थरी औषधीका अलावा नगरपालिकाले थप औषधी खरिद गरेर वितरण गरिरहेको उनले बताए । 

 


कोरोना महामारी सुरु हुँदादेखि होस् वा अन्य अवस्थामा नगरबासीलार्ई सहज स्वास्थ्य सुविधा उपलब्ध गराउन नगरपालिकाले पहल गरिरहेको उनको धारणा छ । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले नगरपालिकाको वडा नम्बर १, ४, ६ र ९ आधारभूत स्वास्थ्य केन्द्र र वडा नम्बर २ बालुवापाटी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको बताए । उनले भौगोलिक दूरी र जनघनत्वका हिसाबमा वडा नम्बर १२ को देउराली, १० को चण्डेनी र वडा नम्बर २ को नगरकोटमा सहरी स्वास्थ्य केन्द्र्र सञ्चालनमा ल्याउने अन्तिम तयारी रहेको जानकारी दिए ।

 

नगरपालिकाको आधारभूत अस्पताल यसै महिनाभित्र सञ्चालनमा आउने गरी निर्माण सम्पन्न भएको उनको भनाइ छ । वडा नम्बर १२ का वडाध्यक्ष गोविन्द पराजुलीले वडाभित्र स्वास्थ्य सेवा विस्तार गरिएपछि वडाबासीलाई थप स्वास्थ्य सुविधा पुग्ने बताए । स्वास्थ्य सेवा केन्द्रबाट बिरामी जाँच, गर्भवती जाँच, पोषण सेवा, परिवार नियोजन सेवालगायत स्वास्थ्यका आधारभूत सेवा प्रदान गरिने अनमि शान्ति दनुवारले बताइन् ।