close

स्वास्थ्य क्षेत्रमा इलामका १० स्थानीय तहमध्ये सूर्योदय उत्कृष्ट

स्वास्थ्य क्षेत्रमा इलामका १० स्थानीय तहमध्ये सूर्योदय उत्कृष्ट

Trulli
ADVERTISEMENT

इलाम–स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच पु र्‍याउन इलामको सूर्योदय नगरपालिकाका जनप्रतिनिधि तल्लीन छन् । निर्वाचित भएसँगै जनप्रतिनिधिले स्वास्थ्य केन्द्र स्थापना र अस्पताल निर्माणलाई प्राथमिकतामा राख्दै आएका छन् । जनप्रतिनिधिको प्रयत्नकै कारण नागरिकले स्वास्थ्य संस्थाबाट सहजै उपचार पाउने अवस्था बनेको छ । नियमित स्वास्थ्य सेवा र कोरोना महामारी नियन्त्रणमा नगरपालिकाले गरेको पहल सफल भएको छ । 

 

सूर्योदय नगरपालिकाका १४ मध्ये १३ वटा वडामा स्वास्थ्य संस्था स्थापना भइसकेका छन् । १२ वटाको आप्mनै भवन छ । नगरका २७ स्थानमा खोप क्लिनिक विस्तार भएको छ भने ३३ ठाउँमा गाउँ–घर क्लिनिक सञ्चालनमा छन् । विभिन्न स्वास्थ्य संस्थाबाट नागरिकले कानुन अनुसार निःशुल्क स्वास्थ्य सेवा र औषधी पाइरेहका छन् । नगरपालिकाले सञ्चालन गर्दै आएको दाँत र आँखा उपचार शिविरबाट नगरबासी लाभान्वित हुँदै आएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख धनराज यादव बताउँछन् ।

 

नगरपालिकाले सञ्चालन गरेको शिविरसम्म आउन नसक्ने अशक्त र असहायका लागि गाउँटोलमै गाउँ–घर क्लिनिक सञ्चालन गरिएको छ । घरआँगनमै स्वास्थ्योपचार हुँदा वृद्धवृद्धालाई सुबिस्ता भएको वडा नम्बर १० का वडाध्यक्ष पेमा उगेन लामा बताउँछन् ।


क्लिनिक स्थापनादेखि निःशुल्क उपचार सेवा दिन नगरपालिकाले प्रत्येक आर्थिक वर्षमा बजेट विनियोजन गर्दै आएको छ । सोही बजेटअन्तर्गत अपांगता भएका व्यक्ति र विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा, ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर उपचार सेवा, ज्येष्ठ नागरिकलाई पोषणयुक्त खानेकुरा वितरण, सूर्याेदय ज्येष्ठ आमा घोषणा र सम्मान, सुरक्षित मातृत्व कार्यक्रम, सुरक्षित सुत्केरी कार्यक्रम, खोप सेवा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

 

नगरपालिकाले अघि सारेका यी कार्यक्रमबाट मुख्यतः दलित, विपन्न परिवार र वृद्धवृद्धा लाभान्वित भएका छन् । घरदैलोमै पोषणयुक्त खानेकुरा वितरण कार्यक्रमले ठूलो सहयोग पुगेको नगरपालिकाको महिला विकास अधिकृत तारा शेर्पाको दाबी छ । 


स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याएको नगरपालिकाले कोरोना महामारी नियन्त्रणमा पनि उत्कृष्ट काम गरेको छ । नगरपालिकाले कोभिड नियन्त्रण तथा रोकथाम गर्न स्थापना गरेको कोषमा जम्मा भएको १ करोड १० लाखमध्ये झन्डै ८० लाख रुपैयाँ यसमै खर्च भयो । भारतसँग सीमा जोडिएको पशुपतिनगर नाकामा हेल्थ डेस्क सीमापारिबाट नेपाल हुँदै अन्यत्र जाने नागरिकको एन्टिजेन परीक्षण गरिँदै आएको छ । संक्रमण पुष्टि हुनेलाई क्वारेन्टिनमा राख्ने व्यवस्था पनि नगरपालिकाले गरेको थियो । संक्रमितमध्ये गम्भीर बिरामी भएकालाई प्राथमिक स्वास्थ्य केन्द्र फिक्कल र पशुपतिनगरमा १५ शय्याको कोभिड अस्पतालमा उपचार गर्ने व्यवस्था गरिएको कोभिड–१९ अस्थायी अस्पताल पशुपतिनगरका प्रमुख विमल श्रेष्ठले जानकारी दिए ।

 

महामारी नियन्त्रण गर्न निकै चुनाती भोगेको विगत अनुभव नगरप्रमुख अझै सम्झनुहुन्छ । शव व्यवस्थापनदेखि संक्रमितको घरमा औषधी बोक्दै हिँड्दाको संघर्षले भविष्यमा पुनः संक्रमणजन्य रोगसँग जुध्न नगरपालिकालाई सक्षम बनाएको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई सुनाउँछन् ।

 

जनप्रतिनिधिले महामारी रोक्न गरेको मिहिनेतकै कारण इलामका १० स्थानीय तहमध्ये सूर्योदय नगरपालिका उत्कृष्ट सावित भयो । महामारी नियन्त्रणदेखि घरघरमा वृद्धवृद्धालाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन नगरपालिकाले पाएको उपलब्धिकै कारण साढे चार वर्षमा नगरको स्वास्थ्य क्षेत्रमा लोभलाग्दो परिवर्तन भएको छ ।