close

दक्ष स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री व्यवस्थापनमा कनकाईको सफलता

दक्ष स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री व्यवस्थापनमा कनकाईको सफलता

Trulli
ADVERTISEMENT

झापा– झापाको कनकाई नगरपालिकामा ३२ हजार नागरिकको बसोबास छ । तर, भूगोल र जनसंख्याको आधारमा स्वास्थ्य संस्थाको पहुँच पुर्‍याउन सकस भइरहेको थियो । यही समस्यालाई अन्त्य गर्न स्थानीय तहका जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रमा लगानी बढाए । पालिकाको पहलमा दक्ष स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री व्यवस्थापन गरिएसँगै अहिले कनकाईको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन आएको छ । 

 

कनकाई नगरपालिकाको स्वास्थ्य क्षेत्रमा धेरै समस्या थिए । सुत्केरी गराउन आउने महिलाले प्रसूतिगृह भवन र उपकरण अभाव झेल्दै आएका थिए । गुणस्तरीय र पर्याप्त औषधी थिएनन् । तर, अहिले यी सबै समस्या जनप्रतिनिधिकै पहलका कारण व्यवस्थापन हुन सकेका छन् । सबै वडामा स्वास्थ्य सेवा पुगेको छ भने सुरुंगामा प्राथमिक स्वास्थ्य केन्द्र नगर अस्पतालमा परिणत भएको छ । घैलाडुब्बामा प्राथमिक स्वास्थ्य केन्द्र बनेको छ भने अन्य ७ वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण भएका छन् । नागरिकको स्वास्थ्य बिमा गर्ने गरिएको छ भने बीमकको निःशुल्क उपचारका साथै औषधी पनि वितरण गरिँदै आएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगाल बताउँछन् ।

 

कुनै बेला उपचारकै लागि अन्यत्र जानुपर्ने बाध्यता थियो । तर, अहिले कनकाईका साथै छिमेकी शिवसताक्षी, अर्जुनधारा नगरपालिकासँगै झापा र बाह्रदशी गाउँपालिकाका बासिसन्दासमेत उपचारका लागि यहाँको नगर अस्पताल आउने गरेको वडा नम्बर १ का वडाध्यक्ष रोशनराज पोखरेलले जानकारी दिए । घरआँगनमै उपचार पाउँदा अहिले सहज भएको सुरुंगा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराउन आएकी सीता कारक सुनाउँछिन् ।

 

नगरभित्र निजी क्षेत्रका स्वास्थ्य संस्था, औषधी पसल खुल्ने क्रम जारी छ । नगरपालिकाको वडा नम्बर ४ स्थित कोटिहोममा कनकाई सहारा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ । पूर्ण खोप नगरपालिका घोषणा भएकाले शतप्रतिशत बालबालिकामा खोप सेवा पुगेको छ । आवश्यक स्वास्थ्य पूर्वाधार निर्माण र उपकरण व्यवस्थाले स्वास्थ्य क्षेत्रको विकासमा टेवा पुर्‍याएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको दाबी छ ।

 

जनप्रतिनिधि आउनुअघिको तुलनामा अहिले कनकाईले स्वास्थ्यको क्षेत्रमा ठूलो फड्को मारेको छ । कोही बिरामी भए जनप्रतिनिधि आफंै घर पुग्छन् । औषधोपचारको व्यवस्था गरिदिन्छन् । गर्भवती र सुत्करीको समेत नगरपालिकाले नै ख्याल राख्दै आएको वडा नम्बर ८ का वडाध्यक्ष प्रेमबहादुर कटुवाल र स्थानीय गणेश लिम्बू बताउँछन् । 

 

कोरोना महामारीको समय होस् वा अन्य कुनै आकस्मिक अवस्थामै किन नहोस्, घरमै बिरामी लिन एम्बुलेन्स पुग्ने गरेको छ । उपचार अभावमा घरमै बस्नुपर्ने अवस्था अन्त्य भएको सुरुंगा स्वास्थ्य चौकीका सेवाग्राही भरतप्रसाद शिवाकोटीको अनुभव छ ।

 

दीर्घरोगीलाई लक्षित गर्दै स्वास्थ्य शिविर, आँखाको स्वास्थ्य परीक्षण गर्ने गरी आँखा अस्पतालसमेतको व्यवस्था नगरपालिकाले गरेको मेची आँखा अस्पतालका अप्थाल्मिक सुपरभाइजर होमप्रसाद धितालले जानकारी दिए ।

 

महामारी नियन्त्रण गर्ने क्रममा नगरपालिकाले कोष नै बनाएर काम गर्‍यो। अक्सिजनसहितको आइसोलेसन निर्माणले जुनसुकै बेला फैलिन सक्ने महामारीलाई निष्प्रभावी बनाउने गरी पूर्वाधार विकास भएको छ । पाँच वर्षमा स्वास्थ्य क्षेत्रमा जनप्रतिनिधिले योजना बनाएर गरेको लगानीको प्रतिफल नगरबासीले पाउन थालेका छन् ।