close

म्याङलुङका वडा–वडामै स्वास्थ्य संस्था विस्तारपछि नागरिकलाई सहज

म्याङलुङका वडा–वडामै स्वास्थ्य संस्था विस्तारपछि नागरिकलाई सहज

Trulli
ADVERTISEMENT

तेह्रथुम– भौगोलिक रूपमा विकट हुँदा तेह्रथुमको म्याङलुङ नगरपालिकामा नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँच थिएन । सामान्य उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । तर, अहिले नागरिकले नगरपालिका र वडाबाट  उपचार पाउन थालेका छन् । पाँच वर्षमा जनप्रतिनिधिको सक्रियताकै कारण म्याङलुङले स्वास्थ्य क्षेत्रमा विस्तारै प्रगति हासिल गर्न थालेको छ । 


म्याङलुङ नगरपालिकामा १० वटा वडा छन् । त्यसमध्ये अहिले ५ नम्बर वडामा बाहेक सबै वडामा स्वास्थ्य चौकी निर्माण भएका छन् । स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउन जनप्रतिनिधिले जिल्ला अस्पताल एवं स्वास्थ्य चौकीको पूर्वाधार निर्माण र स्तरोन्नतिमा जोड दिए । अहिले वडा नम्बर १, २ र ३ मा जिल्ला अस्पतालबाट नागरिकले सेवा पाइरहेका छन् । यी स्वास्थ्य चौकीबाट नागरिकले सामान्य चिकित्सा, परिवार नियोजनका साधन, निःशुल्क प्रसूति सेवा पाउन थालेका छन् । पोषण कार्यक्रम सञ्चालन तथा स्वास्थ्य सल्लाह दिने गरिएको छ । गम्भीर बिरामीलाई नगरपालिकाबाट जिल्ला बाहिर पुर्‍याउन २४ घन्टै एम्बुलेन्स व्यवस्था गरिएको छ । वृद्धवृद्धाका लागि सबै वडामा शिविर सञ्चालन हुने गरेको नगरपालिकाको सामाजिक विकास शाखा अधिकृत जगदीश सुवेदीले बताए । 

 

बाल स्वास्थ्य, मातृ स्वास्थ्य कार्यक्रम नियमित रूपमा चलिरहेका छन् । दुर्गममा रहेको वडा नम्बर ७ को आंगबुंग स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर निर्माण गरिएको छ । वडा नम्बर ७, ८ र ९ का महिलाले सेवा पाइरहेका छन् । जटिल हुँदाबाहेक यहाँका महिला उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था हटेको नगरपालिकाकी जनस्वास्थ्य अधिकृत मिनामोदन लिम्बूले जानकारी दिइन् ।

 

वडैपिच्छे स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन हुने गरेको छ । गर्भवती र सुत्केरीको स्वास्थ्योपचारमा ध्यान दिँदा अहिले बर्थिङ सेन्टरमा गएर बच्चा जन्माउनेको संख्यामा वृद्धि भएको वडा नम्बर ९ का वडाध्यक्ष राजेन्द्र तामाङको भनाइ छ ।

 

अन्य स्थानीय तहजस्तै म्याङलुङ पनि कोरोनाको चपेटामा प¥यो । तर, संक्रमितको नियमित स्वास्थ्य परीक्षण, अक्सिजनसहितका आइसोलेसन निर्माण गर्दा संक्रमितको नगरमै उपचार सम्भव भयो । कन्ट्याक्ट ट्रेसिङ गर्ने र आवश्यकताअनुसार अक्सिजन व्यवस्था गरियो । निःशुल्क एम्बुलेन्स व्यवस्था गरेर पनि नागरिकको जीवनरक्षा गर्न नगरपालिका सफल नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङफेले बताए ।

 

नगरपालिकाले म्याङलुङ बसपार्क र जिरी खिम्ती बजारमा हेल्थ डेस्क स्थापना गर्‍यो  । विद्यालयलाई क्वारेन्टिन बनाउने र खोप कार्यक्रमलाई निरन्तरता दिने क्रम बढ्दा अब पुनः महामारी भित्रिए नगरभित्र त्यसलाई रोक्न सक्ने पूर्वाधार निर्माण भएको जनस्वास्थ्य अधिकृत लिम्बूको दाबी छ ।

 

सरकारले २०८८ सम्म स्वास्थ्य सेवाको पहुँच बाहिर परेकालाई समेट्ने राष्ट्रिय नीति अवलम्बन गरेको छ । यो नीति म्याङलुङका जनप्रतिनिधिको सक्रियताका कारण पूरा हुनेमा दुईमत छैन ।