close

त्रियुगाले जग्गा उपलब्ध गराएपछि सञ्चालनमा आयो अस्पताल

त्रियुगाले जग्गा उपलब्ध गराएपछि सञ्चालनमा आयो अस्पताल

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको बोक्से बाँसबारीमा निर्माण गरिएको मदन भण्डारी आँखा अस्पताल बिहीबारदेखि सञ्चालनमा आएको छ । नयाँ आँखा अस्पताल चलेपछि दुई दिनमा २७ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भागवत राउतले बताए ।

 

समितिका उपाध्यक्ष कृष्ण भण्डारीले खोटाङ, उदयपुर, सिन्धुलीसहितका बिरामी उपचारका लागि आउने क्रम जारी रहेको र हालसम्ममा २७० जनाले उपचारका लागि नाम दर्ता गराइसकेको बताए । दुई वर्षअघि नै निर्माण सम्पन्न भएको भवनमा नयाँ आधुनिक प्रविधि तथा उपकरणको व्यवस्था गरिएपछि बिरामीको आँखाको शल्यक्रियासहितको सेवा अस्पतालबाट उपलब्ध गराउन सुरु गरिएको हो ।

 

भवन निर्माणका लागि त्रियुगा नगरपालिकाले एक बिघा जग्गा उपलब्ध गराएको समितिका सदस्य कुमार घिमिरेले बताए । जापानको एक करोड र पूर्वसहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरी, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुसहितले तीन करोडभन्दा बढीको आर्थिक सहयोग गरेपछि  सो भवन बनेको बताइएको छ ।

 

२०७६ सालमा नै स्वास्थ्य मन्त्रालयको एक करोड सहयोगमा भारत तथा जर्मनबाट आँखा उपचारका लागि आवश्यक उपकरण तथा प्रविधि खरिद गरेर ल्याइएको र दुई वर्षअघि नै अस्पताल सञ्चालन गर्ने योजना रहेको भए पनि कोभिड–१९ को कारण समस्या हुँदै आएको थियो ।

 

तत्कालका लागि आँखा अस्पताल सञ्चालन गर्न प्रदेश नं १ सरकार, त्रियुगा नगरपालिकासहित जिल्लाका आठ पालिकाले आर्थिक सहयोग गर्ने सम्झौता भएको समितिका सदस्य महेश्वरी राईले बताए ।