close

के हो नाइरोबी फ्लाई ? यसबाट बच्न के गर्नुपर्छ ?

के हो नाइरोबी फ्लाई ? यसबाट बच्न के गर्नुपर्छ ?

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालको तराई क्षेत्रमा नाइरोबी फ्लाई भित्रिएको भन्दै सामाजिक सञ्जालमा भाइरल छ । यसबारे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले एक सूचना निकाल्दै सचेत रहन आग्रहसमेत गरेको छ । 

'नाइरोबी  फ्लाई नामक किराले  टोक्दा यसको  एसिडका कारण असर हुन्छ । तराई जिल्ला  अर्थात भारतसँग सीमा जोडिएका जिल्लाहरूमा भारतबाट नाईरोबी किरा आएर धेरैलाई समस्या पारेको छ ।' निर्देशनालयले सामाजिक सञ्जालमा लेखेको छ । 

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका अनुसार नेपालमा नाइरोबी  फ्लाई नामक किरा हो कि होइन भनेर अध्ययन भइरहेको छ । अहिले विज्ञ र इन्ट्रोमोटोलोजिस्टको टिमले यसबारे अध्ययन गरिहेको केन्द्रका प्रवक्ता डा भक्तबहादुर केसीले पालिका खबरलाई बताए । आज बेलुकासम्म यसको रिपोर्ट आउने उनी बताउँछन् ।

के हो नाइरोबी फ्लाई  ?

नाइरोबी फ्लाई एक प्रकारको झिँगा हो । यसलाई केन्यान फ्लाई वा ड्रागन बग नामले पनि चिन्ने गरिन्छ । सानो दह्रो पखेँटा भएको नाइरोबी फ्लाई पेडेरस एक्सिमियस र पेडेरस सबाइस गरी दुई प्रकारका हुन्छन् । यो सुन्तला र कालो रङका हुन्छन् । यो पानी परेको समयमा बढी देखिने गर्छ । अरू किराहरू जस्तै यसलाई पनि प्रकाश मन पर्छ ।  
मानिसहरु यसरी नाइरोबी फ्लाइबाट प्रभावित हुँदै छन् । 

सामान्यतया यसले बालीनाली र मानिसका लागि फाइदाजनक किसिमका किराहरूलाई आक्रमण गर्छन् । कहिले काही मानिसको प्रतक्ष्य सम्पर्कमा आइपुग्दा हानी गर्ने गर्छन् । तर मान्छेलाई सिधै टोक्न भने आउदैनन् । 

यस किराले नटोक्ने चिकित्सकहरू बताउँछन् । तर किरालाई छुँदा एक शक्तिशाली एसिड निकाल्छन् । यस एसिडलाई पेडेरिन भनिन्छ । जसले गर्दा छाला चिलाउने, पोल्ने, नराम्रो दाग वा रङ देखापर्ने आदि समस्या हुने गर्छन् । एक वा दुई हप्तामा घाउ निको हुन थाल्छन् । तर छालालाई कन्याउँदा झन् थप असर गर्न सक्छ । 

केन्या र अफ्रिकाको अन्य क्षेत्रमा नाइरोबी फ्लाईको सङ्क्रमण देखिएको थियो । एसोसिएटेड प्रेसका अनुसार १९९८ मा भारी वर्षाका कारणले यस क्षेत्रमा अत्याधिक मात्रामा किराहरु आएका थिए । विगतमा अफ्रिकाबाहेक इन्डिया, जापान, इजरायल, पाराग्वेमा पनि यसको सङ्क्रमण देखिएको थियो । 

आफूलाई नाइरोबी फ्लाइबाट कसरी बचाउन सकिन्छ ?

झुलभित्र सुत्दा यसको आक्रमणबाट बच्न सकिन्छ । यदी यो झिँगा शरिरमा बस्यो भने यसलाई डिस्टर्ब नगरी वा नछोइ बिस्तारै झार्नुपर्छ । वा फुकेर शरिरबाट हटाउनुपर्छ । पेरेडिन एसिड निकाल्ने सम्भावना दिनु हुँदैन । झिगाँ बसेको ठाउँलाई साबुन पानीले धुनुपर्छ । 

यदि नाइरोबी फ्लाइले एसिड छोडिहालेमा हात नधोइकन शरिरको कुनैपनि भागमा र विशेषगरि आँखामा छुनुहँदैन ।