close

मनाङ पूर्ण खोप सुनिश्चितता घोषणा

मनाङ पूर्ण खोप सुनिश्चितता घोषणा

Trulli
ADVERTISEMENT

मनाङलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको छ । जिल्लाका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि मनाङलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो । 

जिल्लाका १६ महिनादेखि २३ महिनासम्मका ७२० बालबालिकालाई सबै खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिए । 

तोकिएको उमेर समूहका बालबालिकाले खोप लगाउन छुटेकालाई समेत लगाइएपछि मनाङलाई पूर्ण खोप सुनिश्चित् घोषणा गरिएको उनले बताए । जिल्ला समन्वय समितिका प्रमुख चीन घलेले घोषणा मात्रै ठूलो कुरा नभएकाले यसको कार्यान्वयन पक्षलाई ध्यान दिनुपर्नेमा जोड दिए ।

“पूर्ण खोप सुनिश्चितता अभियानलाई दिगोपना कायम राख्नका लागि मनाङ नै प्रतिबद्ध हुनुपर्छ”, घलेले भने । सबै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख आचार्यले बताए । उनका अनुसार यसअघि चार पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको थियो । 

नासों गाउँपालिका, चामे गाउँपालिका, मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले सुगम क्षेत्रका जिल्लाले नै खोप अभियान सञ्चालन गरिरहेका अवस्थामा पनि पूर्ण खोप सुनिश्चित घोषणा गर्न नसकिरहेको बेलामा मनाङलाई पहिले नै घोषित गराउन सफल भएको बताए । 

बालबालिकालाई कोभिड–१९, टाइफाइड, विभिन्न रोगको सङ्क्रमण नियन्त्रण गर्न सहयोग पुग्ने खोप पूर्ण मात्रामा लगाइसकिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।