close

भीमेश्वर नगरपालिकामा पुन: विशेषज्ञसहित शल्यक्रिया सेवा सुरु

भीमेश्वर नगरपालिकामा पुन: विशेषज्ञसहित शल्यक्रिया सेवा सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिकामा बागमती प्रदेशअन्तर्गतको पशुपति चौलागाईँ स्मृति अस्पतालमा विशेषज्ञसहित शल्यक्रिया सेवा पुनः सञ्चालनमा आएको छ ।

कर्मचारीको करार अवधि नवीकरण नभएपछि साउन १ गतेदेखि शल्यक्रिया सेवा बन्द भएकामा विशेषज्ञसहित चिकित्सकको टोली काममा फर्केपछि फेरि शल्यक्रियासहित विशेषज्ञ सेवा सञ्चालन भएको अस्पतालका सूचना अधिकारी शान्तिप्रसाद न्यौपानेले जानकारी दिए । 

बागमती प्रदेशअन्तर्गतको ५० शय्या क्षमताको पशुपति चौलागाईँ स्मृति अस्पतालमा करारका कार्मचारीको म्याद नथप्ने प्रदेश स्वास्थ्य मन्त्रालयको पत्रपश्चात् अस्पतालको सामान्यबाहेक अन्य सेवा बन्द थियो ।

अस्पतालमा अर्थाभाव देखाउँदै कर्मचारी कटौती गरे पनि अस्पताललाई निक साइमन नामक संस्थाले सहयोग गर्ने भएपछि एमजीडिपी चिकित्सक विनोद दङ्गालसहितको स्वास्थ्यकर्मीको टोली अस्पतालमा आएसँगै शल्यक्रिया सेवा सञ्चालनमा आएको हो । 

अस्पतालमा दुई दिनको अवधिमा ११ जनाको शल्यक्रिया गरिएको छ । अस्पतालले हालसम्म सम्पूर्ण सेवा निःशुल्क प्रदान गर्दै आइरहेको छ । पशुपति चौलागाईँ स्मृति अस्पतालले हाल मातृशिशु कार्यक्रमअन्र्तगत प्रसूति सेवा, हर्निया, एपेन्डीसाइडलगायतका शल्यक्रिया गर्दै आएको छ ।

पचास शय्या क्षमताको प्रदेशस्तरीय अस्पतलामा ७२ कर्मचारी कार्यरत रहेकामा नौ स्थायी स्वास्थ्यकर्मी रहेकामा दुई जना अध्ययन बिदामा रहेका छन् । ६३ जना करारका कर्मचारीको म्याद नवीकरण नभएपछि अस्पतालको सेवा बन्द भएको थियो ।

दैनिक २४ घण्टा सञ्चालन हुने उक्त अस्पतालमा कुनै पनि व्यवस्था नगरी एकैपटक ६३ कर्मचारीको म्याद थप नहुँदा अस्पतालबाट प्रदान गरिने सेवा प्रभावित बनेको थियो । अस्पतालमा दैनिक दुई सयदेखि तीन सयसम्म बिरामी उपचारका लागि आउने गरेको सूचना अधिकारी न्यौपानेले बताए ।