close

प्रभावकारी बन्दै एक विद्यालय एक नर्स कार्यक्रम

प्रभावकारी बन्दै एक विद्यालय एक नर्स कार्यक्रम

Trulli
ADVERTISEMENT

ललितपुर ।  पाटन माध्यमिक विद्यालयको एक कोठामा पुग्दा स्वास्थ्य संस्थाजस्तै देखिन्थ्यो । कोठाभित्र बिरामीको लागि शय्या, तौल नाप्ने मेसिन, औषधि तथा अन्य सामग्रीहरू देखिन्थ्यो । कोठाभित्र छिर्दा नर्स गरिमा गौतम व्यस्त देखिन्थिन् । उनी कक्षा ४ मा अध्ययनरत विद्यार्थी सृष्टि श्रेष्ठको उपचार गरेर औषधि दिँदै थिइन् । उपचार गर्दै उनले ती नानीलाई भनिन्, ‘यो औषधि खाना खाएपछि खानू । घाउमा पानी नपार्नू ल ।’

नर्ससँग औषधि लिँदै उनले टाउको हलाउँदै ‘हस’ को संज्ञा दिँदै थिइन् । उनले नर्सलाई हेर्दै सोधिन्, ‘अब म कहिले आउँदा हुन्छ ?’

जवाफमा नर्स गौतमले भनिन्,‘अब आउनु पर्दैन । औषधि खाएर पनि निको भएन भने आउनु ल । अनि ममीलाई पनि ल्याउनू । उहाँलाई पनि भन्छु ।’ 

विद्यार्थीको निधारमा चोट थियो । उनको चोटमा नर्स गौतमले आवश्यक उपचार गरेर मलमपट्टी लगाइदिएकी थिइन् । विद्यालयमा साथीसँग खेल्दाखेल्दै लडेर घाउ लागेको उनले बताइन् । 

एक वर्ष अघि मात्रै नर्स गौतम सो विद्यालयमा पुगेकी थिइन् । सरकारको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ मार्फत आफू सो विद्यालयमा पुगेको उनले बताइन् । 

स्वास्थ्य सेवामा लामो समय काम गरेर अनुभव बटुलिसकेकी गौतम विद्यार्थीसँग बसेर काम गर्न पाएकोमा खुसी व्यक्त गरिन् । ‘म यो पेशामा लामो समय काम गरिसकेको छु । तर सबैभन्दा रमाइलो विद्यार्थी र विद्यालयसँग भएँ,’ उनले भनिन् ।

कार्यक्रम आएपछि विद्यालयलाई पनि धेरै फाइदा पुगेको विद्यालयका प्रधानाध्यापक ईश्वरमान बज्रचार्यले बताए । ‘पहिले विद्यार्थीको स्वास्थ्य र सरसफाइमा ध्यान दिन विद्यालयलाई गाह्रो हुन्थ्यो । तर अहिले नर्सले नै विद्यार्थीलाई सजिलै सिकाउने गरेको छ,’ उनले भने । 

कार्यक्रमले विद्यार्थीसँगै अभिभावक र समुदायले पनि फाइदा भएको उनले पालिकाखबरसँग बताए ।

प्राथमिक उपचारदेखि शिविरसम्मको सेवा

‘एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन कार्यविधि, २०७८’ लागू भएदेखि सो कार्यक्रम सञ्चालनमा आएको हो । कार्यक्रममार्फत् सामुदायिक विद्यालयमा नर्सको व्यवस्था गरी विद्यार्थीलाई स्वास्थ्य उपचार तथा जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

पाटन माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरमान बज्रचार्यका अनुसार कार्यक्रममार्फत् विद्यार्थीको स्वास्थ्य उपचार तथा औषधि वितरण समेत गर्दै आएको छ । साथै अभिभावक तथा विद्यार्थीको लागि समयसमयमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको उनले बताए । 

उपचारको लागि आवश्यक पर्ने औषधि तथा सामग्री विद्यालयमा निःशुल्क वितरण हुँदै आएको विद्यालय नर्स गरिमा गौतमले बताइन् । ‘विद्यार्थी बिरामी वा चोटपटक लागेमा प्राथमिक उपचार गरिन्छ,’ उनले भनिन्, ‘आवश्यक परेको अवस्थामा विद्यार्थीलाई नजिकको स्वास्थ्य संस्थामा लगिन्छ ।’ 

समयमा सामान्य उपचार भएपछि विद्यार्थीको स्वास्थ्य जोखिममा नपर्ने उनी बताउँछिन् । विद्यार्थीको लागि आवश्यक औषधिहरू निःशुल्क रुपमा वितरण गर्दै आएको उनले बताइन् । 

कार्यक्रममा आधारित भएर समयसमयमा विद्यालय र समुदायमा शिविर गर्ने, जनचेतना मूलक कार्यक्रम सञ्चालन गरिने उनले पालिका खबरलाई बताइन् । 

पढाइमा सहयोग 

कार्यक्रम नआउँदा विद्यार्थी सामान्य बिरामी भए पनि उपचारका लागि स्वास्थ्यचौकी लैजानुपर्ने अवस्था थियो । तर अहिले सो समस्या भोग्नु नपरेकोमा विद्यार्थीसमेत ढंग छन् । कक्षा ७ मा अध्ययनरत युनिका श्रेष्ठले विगतका वर्षमा आफू विद्यालयमा बिरामी हुनु परेमा घर जाने गरेको बताइन् । तर अहिले नर्स आएपछि केही बिरामी वा चोटपटक लागे पनि पढ्न सकेको उनको अनुभव छ ।

‘पहिले बिरामी भएमा वा चोटपटक लागेमा उपचार गर्न अस्पताल जानु पर्छ । त्यसैले पनि घर फर्केर जानु पर्ने हुन्थ्यो,’ उनले भनिन्, ‘तर अहिले बिरामी भए पनि नर्स दिदी उपचार गर्नु हुन्छ । आवश्यक औषधि पनि दिनु हुन्छ ।’

उपचारपछि केही समय आराम गरेर पुन: कक्षामा पढ्न सकिने उनले बताइन् । उनीसँगै गोमा श्रेष्ठले पनि विद्यालयमा नर्स दिदी आएपछि पढाईमा सुधार भएको बताइन् । 

उपचारको लागि मात्रै नभई सामाजिक र स्वास्थ्य विषयमा पनि कक्षा पढाउने उनले सुनाइन् । यसले पढाइमा पनि सहयोग भएको उनको अनुभव छ । 

विद्यालयमा नर्स आएपछि शिक्षक समेत खुसी छन् । नर्स आएपछि हचुवाको भरमा बिरामीले औषधि सेवन गर्न नपरेको उनीहरूले बताए । 

विद्यार्थीसँगै अभिभावकसमेत सचेत

चाँगुनारायण नगरपालिका-९ मा रहेको देवी माध्यमिक विद्यालयले पनि दुई वर्ष अघि नै एक जना विद्यालय नर्स पाएको छ । नर्स आएदेखि विद्यालयका शिक्षक र अभिभावलाई सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक राजाराम छुकांले बताए । उनका अनुसार कार्यक्रमले आएपछि विद्यार्थीहरूको स्वास्थ्य परीक्षण तथा उपचार विद्यालयमै हुने गरेको छ । 

उनले कार्यक्रमबाट विद्यालय मात्रै नभई अभिभावक र समुदाय पनि लाभान्वित भएको पालिका खबरलाई बताए । ‘नर्सले स्वास्थ्य र सामाजिक विषयमा कहिलेकहीँ कक्षा लिनुहुन्छ । विद्यार्थीले नर्सबाट सिकेको कुरालाई अभिभावकलाई पनि सिकाउँदै आएका छन्,’ उनले भने, ‘कहिलेकहीँ विद्यालयमा शिविर हुने गर्दछ । शिविरमा अभिभावक पनि आउनु हुन्छ ।’ 

उनले कार्यक्रममार्फत् छात्राहरू बढी लाभान्वित भएको बताए । छात्राहरू महिनावारी भएको बेला केही समस्या भयो भने नर्ससँग परामर्श लिने गर्छन् । यस्तो समयमा नर्सले आवश्यक सहयोग गर्दै आउनु भएको छ । 

प्रधानाध्यापक छुकांले आफ्नो विद्यालयमा मात्रै नभई नजिकको विद्यालयमा पनि शिविर सञ्चालन गर्दै आएको बताए । उनका अनुसार यसले समुदायस्तरमा पनि सरसफाई, पोषणयुक्त खानेकुरा, स्वास्थ्यलगायत विषयमा सचेत हुदै आएका छन् । 

सिन्धुपाल्चोकको भीमेश्वर माध्यामिक विद्यालयमा पनि विगत दुई वर्षदेखि सो कार्यक्रम लागू भएको छ । कार्यक्रम लागू भएसँगै विद्यार्थीको स्वास्थ्य अवस्थामा सुधार भएको विद्यालयका प्रधानाध्यापक कृष्ण श्रेष्ठले बताए । ग्रामीण क्षेत्र भएकोले विद्यार्थी वा शिक्षक बिरामी भएमा या चोटपटक लागेमा तत्काल स्वास्थ्य संस्था पुर्‍याउन अवस्था नरहेको उनले बताए । तर विद्यालयमा नर्स आएपछि विद्यार्थी केही भइहालेमा तत्काल प्राथमिक उपचार दिने गरेको उनले बताए । 

‘यसले प्रत्यक्ष रुपमा विद्यार्थीको शैक्षिक र स्वास्थ्यमा धेरै सहयोग गरेको छ,’ उनले भने, ‘समुदाय र अभिभावकलाई पनि अप्रत्यक्ष रुपमा सहयोग पुगेको छ ।’

उनका अनुसार विद्यार्थीले विद्यालयमा सिकेका कुराहरू अभिभावकलाई पनि सिकाउने गर्छन् । यसले गर्दा अभिभावक पनि सरसफाईमा ध्यान दिने गरेको उनले बताए । 

कार्यक्रम आएपछि अभिभावकले आफ्नो सन्तानहरूको स्वास्थ्य अवस्थामा पनि ध्यान दिन थालेको उनले पालिका खबरसँग बताए । कार्यक्रम आउनुभन्दा पहिले कमै मात्रै अभिभावकले बालबच्चाको ध्यान दिने गरेको अनुभव प्रधानाध्यापक श्रेष्ठको छ । 

विद्यालय नर्समार्फत समय-समयमा सडक नाटक, समुदायस्तर शिविर सञ्चालन गर्दै आएको उनले बताए । 

करिब ९०० विद्यालयमा कार्यक्रम सञ्चालन 

हालसम्म मुलुकभरका करिब ९०० वटा विद्यालयमा सो कार्यक्रम लागू भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभाग अन्तर्गत नर्सिङ महाशाखा प्रमुख गोमा निरौलाका अनुसार संघीय सरकारबाट २३२ वटा सामुदायिक विद्यालयमा लागू गरिएको छ । बाँकी विद्यालयमा प्रदेश सरकारले कार्यक्रम सञ्चालन गर्दै आएको उनले पालिका खबरलाई बताइन् । 

उनका अनुसार कार्यक्रमबाट विद्यालय पठाएका नर्सहरूलाई संघीय सरकारले पारिश्रमिक तलब व्यवस्था गर्दै आएका छ। ‘ससर्त अनुदानमार्फत सो कार्यक्रम सञ्चालन गरिएको हो । नर्सहरूलाई संघीय सरकारले तलब पठाउँछ’, उनले भनिन्, ‘बाँकी सेवा स्थानीय सरकारमार्फत हुने गर्दछ ।’ 

उनले विद्यार्थीको उपचारको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री, औषधि तथा अन्य सेवा सम्बन्धित पालिका र स्वास्थ्य संस्थासँग समन्वय गरी सञ्चालन गर्दै आएको बताइन् । 

तीन सयभन्दा बढी विद्यार्थी भएको विद्यालयमा सो कार्यक्रम कार्यान्वयन गरिएको महाशाखा प्रमुख निरौलाले बताइन् । बाँकी सामुदायिक विद्यालयमा पनि कार्यक्रम सञ्चालन हुने उनको भनाई छ । 

उनले स्कूले विद्यार्थीको स्वास्थ्य सुरक्षामा ध्यान दिनको लागि संघीय तथा प्रदेश सरकारले सो कार्यक्रम ल्याएको बताइन् । ‘विद्यालयमा जंक फुड निरुत्साहित गर्ने, विद्यार्थीलाई पोषिलो खानेकुरा वितरण गर्ने, सरसफाईबारे जानकारी दिनु कार्यक्रमको मुख्य उदेश्य हो,’ उनले भनिन् ।

कार्यक्रमले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा समुदायमा पनि जनचेतना फैलाउने विश्वास उनले व्यक्त गरिन् । उनका अनुसार नर्समार्फत विद्यार्थी र विद्यार्थीमार्फत अभिभावक र समुदायमा स्वास्थ्य र सरसफाइबारे जनचेतना फैलाउँदै आएको छ ।