close

सन्चो बिसन्चो कार्यक्रमबाट १६० सुत्केरी लाभाम्बित

सन्चो बिसन्चो कार्यक्रमबाट १६० सुत्केरी लाभाम्बित

Trulli
ADVERTISEMENT

पर्वत । पैयुँ गाउँपालिकाका महिला सुत्केरी भए पनि परिवारबाट पीडित हुन्थे । केही महिला सुत्केरी भएपछि परिवारबाट विभिन्न यातना भोग्नु पर्थ्यो । तर गाउँपालिकाले ‘सुत्केरीसँग सन्चो बिसन्चो कार्यक्रम’कार्यान्वयनमा ल्याएपछि सुत्केरी महिलाले यातना भोग्नु नपरेको गाउँपालिकाले दाबी गरेको छ । गाउँपालिकाले सो कार्यक्रमबाट प्रत्येक सुत्केरी महिलालाई ५ हजार रुपैयाँ वितरण गर्दै आएको छ ।  

पालिकाले आर्थिक वर्ष २०७८र०७९ बाट सो कार्यक्रम सञ्चालनमा ल्याएको पालिकाले जनाएको छ । पालिका उपाध्यक्ष यामकुमारी रानाका अनुसार नगरभित्रका सुत्केरी महिलाको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । ‘हाम्रोमा सुत्केरीमा महिला हिंसा हुने गर्दथ्यो । तर कार्यक्रम आएपछि सुत्केरीमाथि हुन हिंसामा कमी आएको छ,’ उनले दाबी गरिन् । 

कार्यक्रमबाट विपन्न परिवारको सुत्केरी महिला तथा बच्चालाई राहत मिलेको दावी उनको छ । ‘आर्थिक अभावले गर्दा उहाँहरु पोषणयुक्त खानेकुरा मुस्किलैले पाउनुहुन्छ । हामीले दिएको पैसाबाट पोषणयुक्त खानेकुरा किनेर खानुहुन्छ,’ उनले पालिका खबरसँग बताइन् । 

पालिकाले हालसम्म सो कार्यक्रमको लागि १३ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । उपाध्यक्ष राणाका अनुसार गत वर्ष ८ लाख र चालु वर्ष ५ लाख रुपैयाँ विनियोजन भएको छ । 

कसरी वितरण गरिन्छ रकम ?

पालिकाले सुत्केरी महिलालाई घरमै भेट्न गएर पौष्टिक आहारको लागि ५ हजार रुपैयाँ वितरण गर्दछ । पालिकाको स्वास्थ्य शाखा प्रमुख पूर्णप्रसाद न्यौपानेका अनुसार पालिका उपाध्यक्षसहित स्वास्थ्यकर्मीको टोली सुत्केरीलाई घरमा भेटेर रकम वितरण गर्ने हो । 

‘सुत्केरी महिलालाई स्वास्थ्य परिक्षण गरिन्छ । र सोही महिलालाई नै पैसा दिइन्छ,’ उनले भने, ‘सुरुवाती समयमा परिवारका सदस्यलाई पैसा दिने गरिन्थ्यो । तर सुत्केरी महिलाले पैसा नपाउने भएपछि हाल महिलालाई नै दिन थालेको छ ।’ 

परिवारको सदस्यको हातमा पैसा दिँदा फजुल खर्च भएको गुनासो आएपछि सुत्केरी महिलालाई नै रकम वितरण गर्न थालिएको उनले बताए । उनका अनुसार हालसम्म १६० जना महिला सो कार्यक्रमबाट लाभान्वित भएका छन् । 

हाल सुत्केरी महिलाहरुको नामावली संकलन हुनुका साथै स्वास्थ्य परीक्षण भइरहेको उनले सुनाए । ‘तर पालिकाको खाता रोकिएकोले रकम वितरण गर्न सकेको छैन । खाता सञ्चालनमा आएपछि पैसा वितरण गरिने छ,’ उनले भने ।