close

अस्पतालमा खाना : कुहिएको मासु, सडेको भात

'बिरामी उपचार गर्ने अस्पतालको क्यान्टिनले नै बिरामी उत्पादन गरिरहेको पाइएको छ,' अनुगमन समितिका संयोजक राजकृष्ण गोराले बताए।

अस्पतालमा खाना : कुहिएको मासु, सडेको भात

'बिरामी उपचार गर्ने अस्पतालको क्यान्टिनले नै बिरामी उत्पादन गरिरहेको पाइएको छ,' अनुगमन समितिका संयोजक राजकृष्ण गोराले बताए।

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुरका सरकारी तथा निजी अस्पतालहरूमा सञ्चालित क्यान्टिनले कुहिएको मासुदेखि सडेगलेका खानेकुरासमेत बिक्री गरेको पाइएको छ। 

भक्तपुर नगरपालिकाको अनुगमन समितिले सोमबार गरेको अनुगमनमा अस्पतालका क्यान्टिन दुर्गन्धित र फोहोर रहेको पाएको हो।

'बिरामी उपचार गर्ने अस्पतालको क्यान्टिनले नै बिरामी उत्पादन गरिरहेको पाइएको छ,' अनुगमन समितिका संयोजक राजकृष्ण गोराले बताए।

अनुगमनमा भक्तपुर अस्पतालमा सञ्चालित 'सदाबहार चमेना गृह' को फ्रिजमा बिग्रेर कुहिएको कुखुरा र राँगाको मासु राखेको पाइएपछि टोलीले नष्ट गरेको छ। त्यस्तै पाकेको र काँचो खाद्य वस्तुहरू एकै ठाउँमा राखेको, अखाद्य तेलमा पटकपटक खानेकुरा पकाएर प्रयोग गरिएको, भान्छा एकदमै फोहोर र गन्हाउने रहेको अवस्थामा भेटिएको छ।

त्यस्तै क्यान्सर अस्पतालको 'सुप्रिमु रेस्टुरेन्ट एण्ड मःम हाउस' ले म्याद नाघेका चामल लगायतका खाद्य सामग्री प्रयोग गरेको, भान्छा कोठा धुवाँ र तेलले कालो खार र फोहोर बनाएको, चिम्नीको व्यवस्था नगरेको र पसल दर्ता नगरेको पाइएको छ। 

शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र अस्पतालमा सञ्चालित 'गुडविल रेस्टुरेन्ट एन्ड क्यान्टिन' मा भान्छाको भुइँभित्ता फोहोर भएको, फोहोरको व्यवस्थित निकास नभएको, दर्ता प्रमाणपत्र पसलमा नभएको पाइएपछि टोलीले दर्ता प्रमाणपत्र लिएर वडा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको अनुगमन समितिका सदस्य रामप्रसाद प्रजापतिले जानकारी दिए।

त्यस्तै इवामुरा अस्पतालमा रहेको 'सुनिता खाजा घर' मा भान्छामा फोहोर रहेको, मूल्यसूची नराखेको, फ्रिजमा खाद्य वस्तुहरू, जुस र आइसक्रिमसँगै राखेको, विगत १० वर्षदेखि पसल दर्ताबिनै सञ्चालनमा रहेकोले तीन दिनभित्र वडा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको उनले बताए।

टोलीले सबै अस्पतालका कामदारहरूलाई एप्रोन, मास्क, पञ्जा, हेयरनेट प्रयोग गर्न, भान्छा सफा एवं व्यवस्थित गरी ग्यास सुरक्षित राख्न र तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको प्रजापतिले जानकारी दिए।