close

सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय सञ्चालनमा आउँदै

सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय सञ्चालनमा आउँदै

Trulli
ADVERTISEMENT

धनगढी । सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले सञ्चालनको तयारी सुरु गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को निर्णयका आधारमा सामाजिक विकास मन्त्रालयले बिहीबार व्यवस्थापन समितिको अध्यक्षमा नरेशबहादुर विष्टलाई नियुक्त गरेपछि सञ्चालनको तयारी अगाडि बढाइएको हो ।

यस प्रादेशिक आयुर्वेद चिकित्सालयले चार दिन स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । आयुर्वेद चिकित्सालयलाई सुचारु गर्नका लागि यही असोज ११ गतेदेखि १४ गतेसम्म स्वास्थ्य शिविर सञ्चालन गरिने नवनियुक्त अध्यक्ष नरेश विष्टले जानकारी दिए ।

उनले सर्वसाधारण नागरिकलाई स्वास्थ्यको पहुँचमा पुगाउनका लागि स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको बताए । साथै निःशुल्क ओपिडी सेवा पनि सञ्चालन गरिने जानकारी दिए ।

उनले आयुर्वेदको अर्थ ‘आयुको ज्ञान’ भएको बताउँदै आयुको सत्ता, आयुसम्बन्धी ज्ञान र पूर्ण आयुका साथ शारीरिक र मानसिक स्वस्थता प्राप्ति गर्ने विधि नै आयुर्वेद भएको बताए । ‘आयुर्वेद चिकित्सालयले मानिसलाई जिउने कला सिकाउने भएकाले पनि यसको प्रचारपसार गर्न आवश्यक छ,’ उनले भने ।

उनले सैद्धान्तिक हिसाबले आयुर्वेद चिकित्सकले स्वस्थ्य व्यक्तिको स्वास्थ्य रक्षा गर्नु र रोगी व्यक्तिको रोग निर्मूल गर्ने अथवा प्रशमंन गर्ने भएकाले पछिल्लो समय आयुर्वेद अस्पतालप्रति जनविश्वास बढ्दै गएको बताए ।

स्वास्थ्य शिविरमा निःशुल्क ओपिडी सेवा सञ्चालन गरिने बताउँदै सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक खगेन्द्र बमले क्षारसूत्र, पञ्चकर्म, अग्निकर्मलगायत सेवा सञ्चालन गरिने बताए । ‘चिकित्सालयले क्षारसूत्रबाट पायल्स, फिस्टुला, फिसर, सिस्टलगायत रोग निदान गर्नेछ,’ उनले भने ।

उनले प्रादेशिक चिकित्सालय सञ्चालनमा आएपछि पायल्स, फिस्टुला, फिसर रोगजस्ता सेवा लिन बुटवल, नेपालगञ्ज, काठमाडौँ जानुपर्ने सुदूरपश्चिमेलीहरुको बाध्यता हट्ने बताए ।

उनले योगा, ल्याब, अन्तरङ्ग विभाग, पञ्चकर्म, क्षारसूत्र, फोटो थेरापीलगायतका विधिबाट सेवा प्रदान गरिने साथै निःशुल्क औषधि वितरण गरिने बताए ।

निमित्त निर्देशक बमले चिकित्सालय सञ्चालन गर्नका लागि ३५ जना कर्मचारी आवश्यक रहेको बताए । ‘कर्मचारीको दरबन्दी परिपूर्ति गर्नका लागि पाँच जना डाक्टर, पाँच जना हेल्थ असिटेन्ट, दुई जना स्टाफ नर्स र एक/एक जना ल्याब असिटेन्ट, प्राकृतिक चिकित्सक र रेडियोग्राफरका लागि विज्ञापन खोलिने बताए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयले चार दिन स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । स्वास्थ्य शिविरमा पुर्जा लिनका लागि सुरेन्द्रबहादुर शाही र गजेन्द्रप्रसाद कुशवाहालाई सम्र्पक गर्न सकिने चिकित्सालयले जनाएको छ । 

निमित्त निर्देशक बमले धनगढीमा सञ्चालनमा आउने चिकित्सालय ५० बेडको नेपालकै सबैभन्दा ठूलो भएको बताए । उनले सहरी विकास तथा भवन निर्माण कार्यालयको १८ करोड लगानीमा चिकित्सालय भवन निर्माण भएको जानकारी दिए ।