close

नगर प्रमुखसँग निःशुल्क घरदैलो स्वास्थ्य सेवा सुरू

नगर प्रमुखसँग निःशुल्क घरदैलो स्वास्थ्य सेवा सुरू

Trulli
ADVERTISEMENT

काठमाडौं । शङ्खरापुर नगरपालिकाले निःशुल्क स्वास्थ्य र शिक्षाको कार्यक्रम अघि बढाएको छ । 

जनप्रतिनिधिले काम सुरु गरेको सय  दिनका उपलब्धि सार्वजनिक गर्न आयोजित कार्यक्रममा नगर प्रमुख रमेश नापितले नगर क्षेत्रलाई फोहरमुक्त सफा स्वच्छ नगरपालिका बनाउने प्रक्रिया अघि बढाएको बताए ।  “पर्यटन र कृषिको माध्यमबाट समृद्धि हासिल गर्न, विकासका पूर्वाधार निर्माण गरेर नगरवासीको जीवनयापन सहज बनाउन लागिपरेका छौँ, निर्वाचनका बेला गरेको प्रतिबद्धताअनुसार नै शिक्षा र स्वास्थ्य क्षेत्रलाई निःशुल्क बनाउन लागेका छौँ”–उनले भने । 

जर्मन सरकारको सहयोगमा वडा नं ७ कठनचोकमा अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । विकास साझेदारको आर्थिक सहयोगमा एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढाइएको सो कार्यक्रममा जानकारी गराइयो । 

कार्यक्रममा नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले सय दिनको अवधिमा नगरवासीलाई निःशुल्क स्वास्थ्य, शिक्षाको व्यवस्था गरिएको, गर्भवती महिला, ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा, साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल अस्पतालसँग द्विपक्षीय सम्झौता गरी सात प्रकारका उपचार सेवा निःशुल्क तथा ११ उपचार सेवामा ३० देखि ६० प्रतिशत सहुलियत छुटमा स्वास्थ्य सेवाको व्यवस्था गरिएको जानकारी गराए । 

इन्द्रायणी नगर अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको र नगर प्रमुखसँग निःशुल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रमको सुरुवात गरिएको उनले बताए । शिक्षातर्फ कक्षा ११ को शिक्षा निःशुल्क गरिएको, स्थानीय मातृभाषा ‘नेपाल भाषा र तामाङ भाषा’मा पाठ्यक्रम तयारी कार्यदल गठन भएको नगरपालिकाले जनाएको छ ।