close

गर्भवती महिलाका लागि 'मोवाइल स्वास्थ्य कार्यक्रम'

गर्भवती महिलाका लागि 'मोवाइल स्वास्थ्य कार्यक्रम'

Trulli
ADVERTISEMENT

गलकाेट । गर्भवती भएर समेत स्वास्थ्य चौकीको पहुँचमा पुग्न नसक्नुभएकी बडिगाड गाउँपालिका–१ दगातुन्डाँडास्थित गरङधारा निवासी तारा भुजेलको घरमा गत शनिबार बडिगाड स्वास्थ्य शाखाको समूह पुग्यो । 

 स्वास्थ्य चौकीको पहुँच बाहिर रहेका गर्भवतीहरुलाई वडा कार्यालयको सहयोगमा पहिचान गर्दा उनी गर्भवती भएर स्वास्थ्यचौकी जान सकेकी थिइनन् । त्यसैले उनकाे घरमै पुगेर उक्त समूहले जाँच गरी आवश्यक औषधि उपलब्ध गराउनका साथै स्वास्थ्य संस्थामा सुत्केरी हुने परिपाटी बसाल्न आग्रह ग¥यो । सो समूहले स्वास्थ्य परीक्षण, परामर्श,  भिडियो एक्सरे, डिटि खोप, रगत जाँच र आइरन चक्कीलगायत  औषधि उपलब्ध गराएपछि ओइलाएको उनको अनुहार उज्यालो भयो  । 

भौगोलिकरूपमा विकट रहेको उक्त गाउँपालिकामा स्वास्थ्यचौकीमा नपुगेर घरमै सुत्केरी हुनेको सङ्ख्या बढी छ । गाउँपालिकाले शिशु मृत्युदर घटाउँदै शून्य ‘होम डेलिभरी’ गराउने र लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले चालु आर्थिक वर्षदेखि गाउँपालिकाभर एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य सेवा कार्यक्रम ल्याएको पालिकाअध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए । 

'बडिगाडमा धेरै महिला सुत्केरी हुन नसक्दा हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने, शिशु मृत्युदर बढी हुने, भौगोलिक जटिलता र गरिबीका कारण सम्बद्ध व्यक्तिले समस्या भोग्दै आएकाले गाउँपालिकाले पाँचवर्षे स्वास्थ्य रणनीतिक कार्यक्रममाअन्तर्गत चालु आर्थिक वर्षदेखि एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य सेवा प्रदान गर्न लागेको हो', उनले भने, 'प्रत्येक महिना स्वास्थ्यचौकी, गाउँघर क्लिनिक, खोप केन्द्रलगायत स्वास्थ्य संस्थाबाट पालैपालो गाउँपालिकाभर उक्त स्वास्थ्य सेवा दिइरहेका छौँ, पालिकाका स्वास्थ्यकर्मी साथीहरू महिनामा १० दिन नियमित कामबाहेक मोबाइल सेवामा खटिनुहुन्छ ।' उनका अनुसार पायक पर्ने स्थानमा समेत सम्बन्धित गर्भवती महिला उपस्थिति नभए तिनका घरमै पुगेर स्वास्थ्य सेवा र परामर्श दिने गरिएकाे छ । 

स्वास्थ्य शाखाले समय–समयमा वडा कार्यालय, स्वास्थ्यचौकी र गाउँघर क्लिनिकमार्फत गर्भवती महिलाको तथ्याङ्कसमेत सङकलन गर्ने र त्यसैका आधारमा एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्ने गरिएकोे स्वास्थ्य शाखाले जनाएको छ । सोही कार्यक्रमसँगै जनतासँग पालिका अध्यक्ष स्वास्थ्य बीमा कार्यक्रमसमेत सञ्चालन गरिएको स्वास्थ्य शाखा संयोजक विपेन्द्र केसीले जानकारी दिए ।

'गाउँपालिकाले उक्त कार्यक्रमका साथै लक्षित वर्गलाई जनतासँग पालिका अध्यक्ष स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य बीमा पनि गर्दै आएको छ', उनले भने, 'पाँच वर्षभित्र पालिकाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने योजना गाउँपालिकाको छ, अहिले एकल महिला, एकल पुरुष, ‘ख’ वर्गको अपाङ्गता, कुपोषित बालबालिका र सुकुम्बासीलाई निःशुल्क बीमा गरिएको हो ।'

 अहिलेसम्म वडा नं २, ७ र ९ मा निःशुल्क सात सय जनाको स्वास्थ्य बीमा गरिसकिएको छ । यस वर्ष ग्रामीण मोबाइल स्वास्थ्य कार्यक्रमअन्तर्गत रु सात लाख र स्वास्थ्य बीमाका लागि रु २० लाख बजेट विनियोजन भएको छ ।

एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य कार्यक्रमअन्तर्गत गर्भवती महिलाको स्वास्थ्य परीक्षण, रगत परीक्षण, बालबालिकाको तौल जाँच, शङ्कास्पद बिरामीको खकार परीक्षण गर्ने गरिएको छ ।

हालसम्म गाउँपालिकाको १० वटै वडामा गरिएको  ग्रामीण मोबाइल स्वास्थ्य कार्यक्रमअन्तर्गत दुई सय ६३ गर्भवतीको भिडियो एक्सरे, ५६ जनाको रगत परीक्षण, दुई वर्षमुनिका बालबालिकाको तौल जाँच, चार सय ५७ जनाको परिवारनियोजन,   ११ शङ्कास्पद बिरामीको खकार सङ्कलन ९३, एक सय २५ जनाको सुगर परीक्षण र पाँच सय ६५ जनाको  स्वास्थ्य परीक्षण गरी  परामशसमेत दिइएको बताइएको छ ।