close

‘क्षयरोगीको खोजी’अभियानलाई तिव्रता दिँदै बडिगाड

‘क्षयरोगीको खोजी’अभियानलाई तिव्रता दिँदै बडिगाड

Trulli
ADVERTISEMENT

बागलुङ। बडिगाड गाउँपालिकामा क्षयरोगीका बिरामी बढ्दै गएका छन् । पछिल्लो पाँच महिनायता बडिगाड गाउँपालिकामा ३६ जनामा क्षयरोग पहिचान भएको छ ।

अघिल्लो आर्थिक वर्षमा जिल्लाभरी एक सय ८५ जनामा सङ्क्रमण देखिएको थियो । तीमध्ये ५६ जना बडिगाड गाउँपालिकाकै थिए । 

साउनयता गरिएको परीक्षणमा जिल्लाभर ८७ जना नयाँ सङ्क्रमित पहिचान हुँदा बडिगाडका मात्रै ३६ जना रहेको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताए। अघिल्लो वर्ष पहिचान भएकामध्ये केही नियमित औषधि सेवनपछि सङ्क्रमणमुक्त भएका छन् ।

‘अन्य पालिकामा सङ्क्रमित सङ्ख्या घटे पनि बडिगाडमा सङ्मितको सङ्ख्यासँगै  मृत्युदरसमेत बढेकोे छ’, घिमिरेले जानकारी दिए। गत आर्थिक वर्षमा जिल्लाभर छ जना क्षयरोगका बिरामीको मृत्यु हुँदा बडिगाडका चार जना थिए । 

स्वास्थ्य कार्यालयले गरेको नमूना परीक्षणमा बडिगाडमा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो भेटिएपछि गाउँपालिकाले सक्रिय खोजपड्ताल विधिद्वारा बिरामी पहिचान थालेको थियो । पालिकाले सञ्चालन गरेको क्षयरोगी पहिचान कार्यक्रमअन्तर्गत आठ जना बिरामी फेला परेको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र केसीले जानकारी दिए।

पालिकाको स्वास्थ्य शाखा, धौलागिरि अस्पताल बागलुङ र पोखराका विभिन्न अस्पतालमा गरिएको परिक्षणमा ३६ जना नयाँ बिरामी थपिएका छन् । 

क्षयरोगका बिरामी बढी भएका वडा नं २, ४, ५ र ६ मा स्वास्थ्य शाखाले ‘क्षयरोगीको खोजी’ अभियान नै सञ्चालन गरेको छ । अभियानका क्रममा शङ्कास्पद दुई सय ३७ को खकारको नमूना सङ्कलन गरी परीक्षण गरिएको केसीले बताए। वडा नं ३ र ९ मा भने सङ्क्रमित भेटिएका छैनन् ।

क्षयरोगीको खोजपड्ताल कार्यक्रमअन्तर्गत पुराना क्षयरोगी तथा उनीहरुको सम्पर्कमा आएका शङ्कास्पद व्यक्तिको खकारको नमूना सङ्कलन गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको उनको भनाइ छ । ‘यो सङ्ख्या बडिगाडमा देखिएको डरलाग्दो नमूना हो तर बडिगाडमा किन क्षयरोगीको सङ्ख्या बढ्दो छ भन्ने खोजीमै छौँ’, उनले भने।

वडा नं २, ४, ५ र ६ मा फोक्सोका क्षयरोगी धेरै भेटिएकाले खोजपड्ताललाई सक्रिय बनाउनुपरेको केसीले बताए। सङ्क्रमण पुष्टि भएका बिरामीलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा नियमित औषधि खुवाउन थालिएको छ । ‘स्वासप्रश्वासको माध्यमबाट फैलिने भएकाले हामीले बिरामीलाई सजग रहन र नियमित औषधि सेवन गर्न लगाएका छौँ’, उनले बताए। वडा नं २, ५, ७ र ९ मा प्रयोगशाला सञ्चालन गरेर क्षयरोग र मधुमेह परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

गाउँपालिकाले पहिचान गरेका र औषधि उपलब्ध गराएकाबाहेक पोखरा, काठमाडौँलगायतका अस्पतालमा क्षयरोग पहिचान भएका बिरामीको सङ्ख्या पनि धेरै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । अस्पतालमा पहिचान भएका बिरामीले सोही अस्पतालबाट परामर्श र औषधि लिने गरेका छन् ।