close

सिद्धार्थनगरका सुत्केरीलाई उपप्रमुखको कोसेली

सिद्धार्थनगरका सुत्केरीलाई उपप्रमुखको कोसेली

Trulli
ADVERTISEMENT

रुपन्देही । सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी कोसेली बोकेर घरमै भेट्न आउँदा वडा नं ९ की सुजिता गुरुङ दङ्ग परिन्। सुत्केरी आमालाई शुभकामना सन्देशसहित नगरपालिकाले सुरु गरेको ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ कार्यक्रमअन्तर्गत उपप्रमुख अधिकारी कोसेली लिएर गुरुङको घरमा पुगेकी थिइन् ।

कोसेली रहेको झोलामा घ्यू, ज्वानो, मह, सर्फ, डेटल साबुन, जोनसन साबुन, जोनसन तेल, स्यानेटरी प्याड, झुल, म्याक्सीलगायत सुत्केरीलाई आवश्यकपर्ने सामग्री थिए । 

'उपप्रमुखले घरमै आएर कोसेली दिनुभयो, उहाँ घरमै आउँदा निकै खुसी लाग्यो', गुरुङले भनिन् । उक्त  नगरपालिकाले उपप्रमुख सुरक्षित मातृशिशु कार्यक्रमअन्तर्गत पालिकामा रहेका सुत्केरी आमालाई शुभकामना सन्देशसहित ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ उपलब्ध गराउन थालेको हो ।

सोही कार्यक्रमअन्तर्गत विभिन्न वडाका सुत्केरी आमा र शिशुलाई भेट्न उपप्रमुख अधिकारी आफै पुग्छन् । झोलामा सुत्केरीलाई चाहिने सामानसहितको झोला बोकेर उहाँ पुग्दा सुत्केरीका साथै परिवार पनि खुसी हुने गरेका छन् । 'नजिकैको सरकार महसुस गर्न पाएका छौँ, निकै खुसी लागेको छ', वडा नं १ की सुत्केरी सुुशीला श्रेष्ठ भन्छिन् ।

अहिलेसम्म वडा नं १, २, ९ र  १२ का गरी करिब ७० महिलालाई ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ उपलब्ध गराइएको उपप्रमुखको स्वकीय सचिव लक्ष्मी कोइराला उल्लेख गर्छन् । उनका अनुसार रु ३५ हजार मूल्य बराबरको कोसेली एक सय दिनभित्रका सुत्केरी आमालाई उपलब्ध गराइएको छ । 'उपप्रमुख वडाका सुत्केरीको घरमै पुगेर कोसेली दिनुहुन्छ । उहाँहरुको स्वास्थ्य अवस्था पनि बुझ्नुहुन्छ', स्वकीय सचिव कोइराला बताउँछन् ।

नगरपालिकाबाट कोसेली पाउनका लागि वडा कार्यालयमा निवेदनका साथै विवाह दर्ताको प्रमाण, न्यूनतम चार पटक गर्भवती जाँच गरिएको अस्पतालको कार्ड, आमा र बच्चाको खोपकार्ड, अस्पतालबाट जारी शिशुको जन्म प्रमणपत्र, जन्मदर्ताको प्रमाण, बुबाआमाको नेपाली नागरिकताको प्रतिलिपि हुनुपर्ने प्रावधान नगरपालिकाले बनाएको छ । 
'सुत्केरी अवस्थामा के खाने, कति दिन आराम गर्ने, कस्ता खानेकुरा खाएमा शरीरलाई फाइदा गर्छजस्ता सन्देश लेखिएको पम्पलेटसमेत कोसेली भेटमा उपलब्ध गराइएको हुन्छ । यसले आमा र बच्चाको मृत्युदरलाई घटाउन पनि टेवा पुग्ने विश्वास लिएका छौँ', उपप्रमुख अधिकारी भनिन् ।

मधेसी समुदायमा विवाह दर्ता र जन्मदर्ता प्रायः कम हुने भएकाले न्यायिक समितिमा पनि त्यस्ता गुनासा आउने गरेपछि सचेतनाका लागि सुत्केरी कोसेली भेट कार्यक्रम सुरु गरिएको जानकारी दिँदै उहाँ यसले समयमै जन्मदर्ता गर्ने र स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्या बढेको बताउँछन् । 

'कार्यालयको काम, अन्य बाध्यताले गर्दा जनप्रतिनिधि नागरिकको दैलोमा पुग्न भ्याएका हुँदैनन् ।स्थानीयवासीका  समस्या र गुनासा पनि  थाहा र यस कार्यले नागरिकको दैलोमै पुगेर सेवा दिँदा नजिकको सरकारको महसुस नगरवासीले गर्न पाउँछन्', उपप्रमुख अधिकारी भनिन् ।  सुत्केरी आमालाई कोसेली दिन उपप्रमुख अधिकारीसहित सम्बन्धित वडाका प्रतिनिधि, आधारभूत स्वास्थ्य केन्द्रका कर्मचारी र  स्वयंसेविका घरमै पुग्ने गरेका छन्।