close

ज्येष्ठ नागरिकको उपचार घरघरमा गर्दै गलकाेट

ज्येष्ठ नागरिकको उपचार घरघरमा गर्दै गलकाेट

Trulli
ADVERTISEMENT

बाग्लुङ । गलकोट नगरपालिकाले गाउँ–गाउँमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र औषधि दिन थालेपछि वृद्धवृद्धा खुसी भएका छन् ।

गलकोट नगरपालिका–१० की ८४ वर्षीया पावर्ती रानाले उपचारका लागि घण्टौँ धाएर स्वास्थ्य चौकी पुग्ने गरेको बताउँदै अहिले घरमै उपचार पाउँदा खुसी भएकोे बताउँछन् ।

नगरपालिकाले ६० वर्षमाथिका ज्येष्ठ नागरिकको सहजताका लागि गत माघदेखि घरमै स्वास्थ्य परीक्षण तथा औषधि उपलब्ध गराउन थालेको छ । घरमै उपचार पाएपछि उनी दंग भएका छन् ।  'सामान्य उपचारका लागि घण्टौँ लगाएर बजारमा पुग्नु पथ्र्यो, अहिले घरमै चिकित्सकले जाँचेर औषधि दिएपछि मलाई निकै खुसी लाग्यो, बुढेसकाल लाग्यो बजारमा झरेर उपचार गराउन समस्या थियो तर घरमै चिकित्सक आएपछि उपचारका लागि कुनै समस्या भएन,'  उनले भने । 
पहिले गाउँमा कोही बिरामी परे धामी झाँक्री खोज्ने गरेको स्मरण गर्दै उनी अहिले घरमै उपचार पाएर औषधि खान थालिएको जानकारी दिएका छन् । 

गलकोट–२ की ७९ वर्षीया मनकुमारी भण्डारीले अघिल्लो महिना घरमा आएका स्वास्थ्यकर्मीसँग स्वास्थ्य परीक्षण गराइन् । उनले स्वास्थ्यकर्मीले औषधिसमेत उपलब्ध गराए । 'घरमै स्वास्थ्य जाँच र औषधि पाएपछि मुलुकमा साँच्चिकै परिवर्तन आएको अनुभव भएको छ', उनले भने ।

 भण्डारी भन्छन्, 'केही दिनदेखि सञ्चो भएको थिएन, अस्पताल जाने निधो गरेको थिएँ, त्यही बेला घरमै चिकित्सकहरुले जाँच गरेर औषधि दिए, अस्पताल जानै परेन । नगरपालिकाले घरमै उपचार गर्न पठाउँछ  भन्ने सुने पनि विश्वास लागेको थिएन,  तर हो रैछ, हामीजस्ता उमेर नाघेका बूढाबूढीलाई सजिलो हुने भयो ।'

गलकोट नगरपालिका–२ का अध्यक्ष तथा प्रवक्ता हिमबहादुर भण्डारीले ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति पालिका सतेत रहेको बताउँछन् । उनले ज्येष्ठ नागरिकको  स्वास्थ्यमा समस्या आउदा अस्पताल पु¥याउन समस्या हुने भएकाले पालिकाले घरमै पुगेर परीक्षण गर्नाका साथै सामान्य औषधिसमेत उपल्ब्ध गराउन थालेको जानकारी दिए ।

  'यस वर्षदेखि हामीले नयाँ कार्यक्रम सुरु गरेका छौँ, खासगरी ज्येष्ठ नागरिकका लागि । समय–समयमा स्वास्थ्यकर्मीसहितको टोली गाउँमा जाने, ज्येष्ठ नागरिकलाई भेट्ने, उहाँहरुको समस्या बुझ्ने र जाँच गर्ने', प्रवक्ता भण्डारी भने । उनका अनुसार सामान्य औषधि नगरपालिकाले उपलब्ध गराउँछ भने थप उपचार आवश्यक भएमा सोही अनुसार सुझाव दिएर बाहिर पठाउने गरिएको छ ।