close

जिल्लामै पहिलो पटक नगर अस्पताल सञ्चालन

जिल्लामै पहिलो पटक नगर अस्पताल सञ्चालन

Trulli
ADVERTISEMENT

बाग्लुङ ।  गलकाेट नगरपालिका नगरअस्पताल सञ्चालनमा आएकाे छ । नगरपालिकाले  जिल्लामा पहिलो नगर अस्पताल सञ्चालनमा ल्याएको हाे ।

केन्द्र सरकारको ‘एक पालिका एक आधारभूत अस्पताल’ सञ्चालन नीतिअनुसार पालिकाले नगर अस्पताल सञ्चालनमा ल्याएको  जनाइएकाे छ  ।

 नगरपालिकाले साबिक गलकोट प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी उक्त अस्पताल बनाएको नगरप्रमुख भरत शर्मा गैरे जानकारी दिनुहुन्छ ।नगरकार्यपालिकाको पुस १७ को निर्णयानुसार वडा नं ५ को हरिचौरमा नगर अस्पताल सञ्चालनमा ल्याएको उनको भनाइ छ । हालसम्म पालिकाको आन्तरिक स्रोतबाटै अस्पताल सञ्चालनमा ल्याएको भन्दै अब प्रदेश तथा केन्द्र सरकारसँग आवश्यक जनशक्ति, उपकरण र भौतिक संरचना माग गर्ने नगरप्रमुख गैरे बताउँछन् ।

 'अहिले १० शय्यामा बिरामी भर्ना गरेर उपचार सुरु गरेका छौँ, आगामी वर्षदेखि सामान्य शल्यक्रिया पनि सुरु गर्ने योजना छ । अस्पतालका लागि थप संरचना आवश्यक छ, त्यसका लागि जग्गा व्यवस्थापनकै चरणमा छौँ', उनले भने, 'अहिले सुरुआत हो, सेवालाई प्रभावकारी बनाउँदै जानेछौँ ।'

    नगरप्रमुख गैरे गलकोट क्षेत्रका नगरिकलाई स्थानीयस्तरमा सहज र गुणस्तरीय सेवा उपलब्ध गराउन आफूहरुले पहल गरिरहेको जानकारी दिए । उपचारका लागि सुविधासम्पन्न अस्पताल खोज्दै सहर जानेको सङ्ख्या बढ्दै गएकाले उनीहरुलाई स्थानीयस्तरमा सर्वसुलभ उपचारको व्यवस्था गराउने उद्देश्यले सेवा विस्तार गरिरहेको उनको भनाइ छ ।  

    अस्पतालमा एक विशेषज्ञसहित दुई मेडिकल अधिकृत, एक स्वास्थ्य सहायक, तीन अनमी, दुई अहेव, दुई नर्स रहने व्यवस्था छ । हाल एक विशेषज्ञ, एक मेडिकल अधिकृत, छ पारामेडिक्स, नर्सिङ पाँच, रेडियोग्राफर एक, डेन्टलहाइजेस एक र दुई ल्याब टेक्निसियन रहेको गलकोट नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुशील पौडेल जानकारी दिनुहुन्छ ।    नगर अस्पतालमा केही दिनअगाडि मात्रै एमडी जिपी (जनरल फिजिसिन)  आएको र पछिल्लो समय नगरपालिका भरका अन्य स्वास्थ्य संस्थाबाट पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइएको उनको भनाइ छ ।

  'यहाँको स्वास्थ्य क्षेत्रमा पछिल्लो समय निकै परिवर्तन हुँदै गएको छ, गाउँ–गाउँका स्वास्थ्य चौकीदेखि नगर अस्पतालले राम्रो सेवा प्रदान गरिरहेका छन्', जनस्वास्थ्य निरीक्षक पौडेल बताउँछन् । स्थानीयस्तरमा नै प्रभावकारी सेवा दिन सके बिरामीलाई बाहिर पठाउनु नपर्ने उनको भनाइ छ ।