close

मेथिनकोट अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम

मेथिनकोट अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक। नमोबुद्ध नगरपालिकामा रहेको मेथिनकोट अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुरु गरिएको छ । कार्यक्रअन्तर्गत उक्त अस्पतालमा नसर्ने रोगसम्बन्धी जाँच निःशुल्क गरिने जनाइएको छ । 

अस्पतालमा चिकित्सकद्वारा नसर्ने रोगसम्बन्धी इतिहास र शारीरिक जाँच, दम–खोकीको क्याट टेस्ट, तौल, उचाइ र पेटको मोटाइ, श्वासप्रश्वास, रक्तचाप नाप, मधुमेह तथा महिलाका लागि ‘भीआइए’को निःशुल्क परीक्षण गरिनेछ । 

कार्यक्रममा रु दुई हजार दुई सयमा निःशुल्क बाहेकका पिसाब, दिसा, रगत, मिर्गौला, कलेजो, लिपिड प्रोफाइल, फोक्सो, छातीको एक्स–रे, इसिजी र युयस्जी परीक्षण हुने जनाइएको छ । 

कार्यक्रम बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले आइतबार एक कार्यक्रमका बीच सुरु भएको घोषणा गरेका हुन्। उनले नसर्ने रोगको महामारी फैलन थालेकाले यसको नियन्त्रण र सचेतनाका लागि मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरिएको बताए। 

उनले स्वास्थ्योपचारमा सहभागी हुन नसक्ने नागरिकका लागि प्रदेश सरकारद्वारा निःशुल्क बीमाको व्यवस्था गरिएको बताउँदै स्थानीय तहको सिफारिसका आधारमा लोपोन्मुख समुदाय, अति सिमान्तकृन्त र आश्रित नागरिकलाई प्रदेश सरकारले निःशुल्क स्वास्थ्य सेवा वीमामार्फत उपलब्ध गराउने भएको हो ।

कार्यक्रमअन्तर्गत हरेक साताको एकपटक परीक्षण हुने जनाइएको छ । यसलाई विस्तारै वृद्धि गर्दै लैजाने सरकारको योजना छ । अस्पतालमा भौतिक पूर्वाधार तथा जनशक्तिअनुसारको उपकरण नहुँदा समस्या भएकाबारे मन्त्री श्रेष्ठले अस्पतालमा सेवा नरोकिने गरी जनशक्ति व्यवस्थापन गर्ने बताउँदै ‘आवश्यकताका आधारमा जनशक्ति तथा जनशक्तिअनुसारको उपकरण खरिद गरिनेछ’, उनले भने। उक्त अस्पताल प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भइरहेको छ । 

प्रदेशभरका अस्पतालका लागि सरकारले चालु आर्थिक वर्षभित्र स्वास्थ्य नीति तयार गर्ने तथा जनशक्तिको ‘ओएनएम सर्भे’ तयारी गर्ने र प्रदेशभित्रका सबै अस्पतालमा पूर्वाधारअनुसारको जनशक्ति तथा उपकरण व्यवस्था गर्ने योजना बनाएको छ । यस्तै सरकारले बिरामी र अशक्त भएका ज्येष्ठ नागरिकको उपचार सेवाका लागि घरघरमा स्वास्थ्यकर्मी पठाएर उपचार गराउने गरी स्थानीय स्वास्थ्य संस्थामार्फत जनशक्ति व्यवस्थापन गर्नेसमेत योजना बनाएको मन्त्री श्रेष्ठले जानकारी दिए।  

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पुरुषोत्तम सेढाईंले अस्पतालमा सेवा विस्तार गरिएका कारण नागरिक लाभान्वित भएको बताए। सरकारले उक्त अस्पतालको भवन निर्माणका लागि रु तीन करोड विनियोजन गरेको छ । हाल अस्पतालमा आकस्मिक, शल्यक्रियालगायतका सेवा २४सै घण्टा उपलब्ध छन्।