close

नगर अस्पतालको काम एक वर्षदेखि अलपत्र

नगर अस्पतालको काम एक वर्षदेखि अलपत्र

Trulli
ADVERTISEMENT

जाजरकोट । छेडागाड नगरपालिकाको नगर अस्पताल एक वर्षदेखि अलपत्र परेको छ । निर्माणको सम्झौता मिति सकिन तीन महिना बाँकी रहदा नगर अस्पतालको लामो समयदेखि अलपत्र परेको छ । 

विसं २०७७ असारमा माउण्टेन इन्फा कम्पनी लिमिटेड लाजिमपाट काठमाडौँले नगर अस्पताल निर्माणका लागि गरेको सम्झौतामा २०८० असार मसान्तभित्र अस्पताल निर्माण भइसक्नुपर्नेछ । कूल १५ शय्याको अस्पताल छेडागाड नगरपालिका–११ सिम्लीमा निर्माण सुुरु भएको एक वर्षभित्रै व्यवसायीले काम छोडेका थिए । एक तला निर्माण गरी बीचमै काम छाडेको नगरपालिकाको प्रशासन शाखाले जनाएको छ ।

भवन निर्माणमा खटिएका व्यवसायीले डिपिआर नै गलत भएको भन्दै काम गर्न अस्वीकार गरेका छन् । भवन निर्माण भइरहेको ठाउँ अत्यन्तै भिरालो भएकाले समस्या भएको उनीहरुको भनाइ छ । भवनको माथि र तल दुबै ठाउँमा भासिएपछि थप अर्को समस्या आइलागेको छ । अवैज्ञानिक तरिकाले ठाउँ छनोट गर्नु नै सबैभन्दा ठूलो गल्ती भएको नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापाको भनाइ छ । 

अस्पताल निर्माण भइरहेको ठाउँमा दुई हजार मिटर जमिन भासिएकाले निर्माण व्यवसायीले सो ठाउँमा काम गर्न अस्वीकार गरेका छन् । डिपिआर नै गलत तरिकाले बनाएकाले अहिले समस्या आएको नगर उपप्रमुख थापाले बताए । डिपिआर निर्माण गर्ने टिम, नगरपालिका र निर्माण व्यवसायीबीचमा छलफल भए पनि भवन निर्माणलाई निरन्तरता दिने विषयमा अन्योलता छाएको उनले बताए।

पहिरो रोकथाम नगरी भवन निर्माण अघि बढ्न सक्ने अवस्था नभएकाले थप रकम आवश्यक पर्ने उनको भनाइ छ । जसका लागि स्वास्थ्य मन्त्रालयले स्वीकृत गर्नुपर्ने हुन्छ । भवन रु १८ करोड लागतमा निर्माण भइरहेको उनको भनाइ छ 

भवन निर्माणको काम अगाडि बढ्छ वा रोकिन्छ भन्ने जवाफ आफूहरुसँग नभएको जनप्रतिनिधि बताउँछन् । एलाइट इञ्जिनियरिङ सोलोसन काठमाडौँले उक्त डिपिआर गरेको इञ्जिनियर प्रेम केसीले बताए । सङ्घीय सरकारबाट प्राप्त रु १८ करोडमध्ये ठेक्का हाल्दा १४ करोडमा सम्झौता गरेर निर्माण व्यवसायीले कामको सुरु गरेका थिए । 

कूल रु १९ लाख खर्च गरेर बनाएको डिपिआर नै गलत भएपछि अब कसरी काम गर्ने भन्नेमा चिन्ता उत्पन्न भएको कर्मचारी बताउँछन् । भवन निर्माण गर्दा भएका प्राविधिक कमजोरीका कारण अहिले एकले अर्कालाई दोष लगाउँदै जिम्मेवारीबाट सबै पन्छिन् खोजेको सर्वसाधाणको आरोप छ । 

भवन निर्माणको जिम्मेवारी लिएका निर्माण व्यवसायीले आफूले पूरै भवन बनाउन खाेजे पनि गलत डिपिआरका कारण निर्माण पूरा हुने वित्तिकै आफूलाई समस्या आउने बताउँदै आएका छन् । अहिले भाडाको निजी विद्यालय रहेको छेडागाड नगरपालिका– ११ थलमहानगर अस्पतालको काम चलिरहेको छ । झार्पा स्वास्थ्यचौकीमा नगर अस्पताल सारिएको पुनः निजी विद्यालयमा सारिएको छ । 

भवन नहुँदा सेवा प्रवाहमा समेत समस्या हुँदै आएको छ । नगर अस्पतालको भवन समयमै निर्माण नहुँदा काम गर्न समस्या भएको भन्दै एक वर्षदेखि डाक्टरसमेत नगर अस्पतालमा छैनन् । दर्ता नै नभएको निजी विद्यालय र जग्गा किन्ने भन्दै सामाजिक विकास समितिले निर्णय गरेको थियो । उक्त निर्णय लागू हुन नसक्ने भन्दै विवाद उत्पन्न भएपछि निजी विद्यालयमा रहेको नगर अस्पतालले भाडासमेत निजी विद्यालयलाई नदिएको स्रोतले बताएको छ । 

भाडा नपाएपछि निजी विद्यालय सञ्चालकले अस्पताल अन्यत्र सार्न दबाब दिएका थिए । दबाबपछि झार्पास्थित स्वास्थ्यचौकीमा नगर अस्पताल सारिएको थियो । अहिले फेरि निजी विद्यालयमै नगर अस्पताल सारिएको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट एक वर्ष अगाडि पठाएको भिडियो एक्सरे, इसिजि, भेन्टिलेटर र अक्सिजन प्रयोगमा आउन सकेको छैन । बन्दकोठामा उक्त सामग्री थन्क्याएको छ । 

नगर अस्पतालले सबै सामग्री प्रयोगमा रहेको भन्दै महाशाखामा गलत विवरण पठाइरहेको स्रोतले बताएको छ । स्वास्थ्यको अवस्था लथालिङ भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गङ्गबहादुर रोकायले बताए ।