close

मजदुरको बीमा गर्दै ‘रामपुर नगरपालिका’

मजदुरको बीमा गर्दै ‘रामपुर नगरपालिका’

Trulli
ADVERTISEMENT

पाल्पा । मजदुरको हकहित र सुरक्षाको लागि रामपुर नगरपालिकाले बीमा कार्यक्रम ल्याएपछि मजदुर खुसी छन् । घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक जोखिम मोलेर काम गर्दै आएका मजदुरको सुरक्षालाई दृष्टिगत गर्दै नगरपालिकाले मजदुर बीमा कार्यक्रम सुरु गरेको हो । 

रामपुर नगरपालिकाले पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिसँग समन्वय गरेर संस्थागत रुपमा मजदुरको बीमा गरिदिएको छ । बीमा कार्यक्रमले मजदुरलाई धेरै राहत पुगेको रामपुर–५ कृषिटोल बस्ने श्यामकुमार श्रेष्ठ बताँछन् । उनी यस क्षेत्रमा विगत सात वर्षदेखि घर तथा भवन निर्माण क्षेत्रमा श्रम गर्दै आएका छन्। केही समय अघि काम गर्ने सिलसिलामा देब्रे हातको हत्केलामा चोट लागेर घाइते  भए । 


श्रेष्ठको सबै उपचार खर्च नगरपालिकाले बीमामार्फत व्यहोर्ने भएपछि आफूलाई उपचारमा आर्थिक भार नपरेपछि खुसी छन् ।'काम गर्ने सिलसिलामा हामी श्रमजीवी मजदुरवर्गलाई चोट पटक लागेमा सामान्य उपचार गर्न समस्या हुन्थ्यो । दैनिक मजदुर गरेर परिवारको पालनपोषण गर्नैप¥यो,' उनले भने, 'बीमा गरेपछि उपचार खर्च मजदुरले व्यहोर्न परेन, नगरपालिकाले ल्याएको बीमा कार्यक्रम हामी मजदुरको लागि अत्यन्तै राम्रो छ, बीमाले ढुक्कको अनुभूति भएको छ ।' 

 प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले हालसम्म रामपुरभित्र कार्यरत पाँच सय ४३ मजदुरको दुर्घटना बीमा गरिएको बताए । निर्माणको क्रममा तोकिएको पारिश्रमिक नपाएको खण्डमा मजदुर व्यवस्थापन समिति तथा स्थानीय निकायले सम्बन्धित निर्माण व्यवसायीलाई खबरदारी गर्ने प्रमुख प्रशासकिय अधिकृत न्यौपाने बताउँछन् ।
 
    घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई २०७९ को जेठदेखि नगरपालिकाले प्रतिव्यक्ति रु तीन लाख बराबरको दुर्घटना बीमा कार्यक्रम सुरु गरेको नगर प्रमुख रमणबहादुर थापा बताउँछन्।
     
'जोखिम मोलेर दैनिक ठूला ठूला घर तथा भवन निर्माणमा श्रम गर्ने मजदुरको सुरक्षाका लागि गतवर्षदेखि दुर्घटना बीमा सुरु गरेका छौँ' उनले भने, 'नगरपालिकाले श्रमिक ऐन नीति नियम बनाउने तयारी गरेको छ । मजदुरको हकहितका लागि नगरपालिकाभित्र ऐन बनाएर काम गर्नेछौँ ।' मजदुरको हकहित र अधिकारको लागि विसं २०७२ मा पूर्वी पाल्पा मजदुर व्यवस्थापन समिति स्थापना गरी मजदुरका समस्यामा विभिन्न कार्य संस्थागत भइरहेका छन् । 

यस कार्यले मजदुर सङ्गठित हुन थालेका छन् । संस्था स्थापना भएपछि समितिले मजदुरको जोखिम कार्यलाई मध्यनजर गर्दै रु एक लाखसम्मको दुर्घटना बीमा कार्य सुरु गरेको थियो । भवितव्य हुने ठूला दुर्घटनालाई मध्यनजर गर्दै मजदुरले ठूलो रकम खर्च गरेर उपचार गर्न नसक्ने हुँदा नगरपालिकासँग समन्वय गरेर रु तीन लाख बराबरको बीमा कार्यक्रम समितिले सञ्चालन गरिरहेको समितिका अध्यक्ष नीलकण्ठ भण्डारी बताउँछन् ।
 
उनी भन्छन्, 'सानातिना दुर्घटनाका उपचारखर्च समितिले रु एक लाखसम्म गरिदिएको बीमाले पुग्ने गरेपनि ठूला घटनालाई बाँकी रकम मजदुर आफैले जुटाउनुपर्दा उपचारमा समस्या भयो । दैनिक ज्यालादारीले बिहान साँझको जीविका धान्न धौँधौँ पर्ने मजदुर आर्थिक अभावमा उपचार पूरा गर्न नपाएर बस्नु नपरोस् भनी समितिले आग्रह गरेबमोजिम नगरपालिकाको सहयोगमा कार्यक्रम सञ्चालन भइरहेको छ ।'

समितिले सुरु गरेको दुर्घटना बीमा कार्यक्रममार्फत हालसम्म ७० जना मजदुरले लाभ लिएका छन् । कामको आधारमा एक दिनको न्यूनतम रु ६५० देखि बढीमा एक हजार दुई सय ज्याला समितिले तोकिदिएको छ । तोकेअनुसारको समितिले ज्याला नपाएमा तत्काल समितिले सम्बन्धित निर्माण व्यवसायीलाई कायम गरिएको ज्याला तथा पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिने गरिएको छ ।

समितिले कोभिड–१९ को महामारीमा चार सय जना मजदुरको परिवारलाई राहत वितरण, विभिन्न ठाउँ–ठाउँमा मजदुरको हकहित सहितको सचेतनामूलक सूचनापाटी, राम्रो कार्य गर्नेलाई प्रोत्साहन, घर तथा भवन निर्माणको क्षेत्रमा कार्यरत मजदुरले काम नराम्रो गरेको पाइएमा स्थानीय सरकारलाई खबरदारी गर्ने लगायतका विभिन्न कार्य गरिरहेको छ । 


समितिमा स्थापनाका समय एक सय १७ मजदुर आबद्ध रही संस्था सुरुवात गरिएको हो । समितिमा आबद्ध पाँच सय ४३ मजदुरमध्ये हाल करिब चालिस प्रतिशत महिला कामदार छन् । महिलाले घर तथा भवन निर्माणको क्षेत्रमा आबद्ध रहेर आफ्नो जीविकोपार्जन, छोराछोरीको पढाइखर्च धान्दै आइरहेका छन् । अहिले यस संस्थाले यो क्षेत्रमा राम्रो कार्य गरेपछि सदस्य बन्ने क्रम बढिरहेका छन् । रामपुर नगरपालिका क्षेत्रमा मात्रै हाल एक हजार पाँच सयको हाराहारीमा मजदुर घर तथा भवन निर्माणको क्षेत्रमा काम गरिरहेको पाइएको छ । यस क्षेत्रमा नेपालका विभिन्न जिल्ला तथा भारतीय मुलुकका मजदुर छन् ।