close

दीपालयमा एकीकृत प्रजनन स्वास्थ्य शिविर

दीपालयमा एकीकृत प्रजनन स्वास्थ्य शिविर

Trulli
ADVERTISEMENT

डोटी। दीपायलमा महिलाको पाठेघर मुखको क्यान्सरको परीक्षण तथा एकीकृत प्रजनन स्वास्थ्य शिविर सुरु गरिएको छ । 

डोटीको दीपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल परिवार नियोजन सङ्घ डोटी शाखाको आयोजना र नगरपालिका स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा दीपायल सिलगढी नगरपालिका– १ तिखा स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको हो ।

दीपायल सिलगढी नगरपालिकाका प्रमुख बाजिसिंह खड्काले स्वास्थ्य नै धन भएकाले नगरबासीको स्वास्थ्यमा पालिकाले विशेष ध्यान दिएको बताए। शिविरमा परीक्षणका क्रममा रोग देखिएमा नलुकाइ समयमै उपचार गर्न उनले जोड दिए। 

शिविरमा पाठेघर खसेका महिलाको उपचार तथा स्क्रीनिङ, परिवार नियोजनको लामो अवधिको अस्थायी साधन सेवा, पाठेघरको मुखको सम्भावित क्यान्सरसम्बन्धी जाँच, यौन रोगको उपचार तथा परामर्श सेवा प्रदान गरिएको थियो । साथै गर्भवतीका लागि भिडियो एक्स–रे सेवा समेत उपलब्ध गराइएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर खड्काले बताए।

शिविरमा सुजुङ अस्पताल राजपुरमा कार्यरत डाक्टर चेतन अवस्थीको नेतृत्वमा नेपाल परिवार नियोजन सङ्घ डोटीकी निम्ति प्रमुख कृष्णा साउद, जिल्ला अस्पतालमा कार्यरत मीना बम र नगरपालिका स्वास्थ्य शाखामा कार्यरत सम्झना पछाइ, राजेश मालासीको टीमले शिविरमा सेवा दिँदैआएको छ ।

शिविर जेठ ८ गते खातीवडा स्वास्थ्य चौकी, जेठ ९ गते नगर स्वास्थ्य केन्द्र बाफि, जेठ १० गते नगर स्वास्थ्य केन्द्र, नारी दाङ, जेठ ११ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र पाकरी, जेठ १२ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र, बागठाटा र जेठ १४ गते कनेला स्वास्थ्य चौकीमा सञ्चालन हुनेछ ।