close

स्वस्थ्य सहर निर्माणका लागि धूम्रपान नियन्त्रण ऐन कार्यान्वयनमा जोड

स्वस्थ्य सहर निर्माणका लागि धूम्रपान नियन्त्रण ऐन कार्यान्वयनमा जोड

Trulli
ADVERTISEMENT

काठमाडौं । सहरको स्वच्छता, स्वस्थ्यता र वातावरणीय सुधारका लागि धूम्रपान नियन्त्रण पहिलो शर्त भएको अधिकारीहरुले बताएका छन्। विश्व धूम्रपानरहित दिवस २०८० का अवसरमा काठमाडौं महानगरपालिकाले नेपाल अर्वुद रोग निवारण संस्था र विकास अनुसन्धान परिषदसँगको सहकार्यमा बुधबार कार्यक्रम आयोजना गरेको थियाे। सो कार्यक्रममा ‘सूर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन’ कार्यान्वयमा स्थानीय सरकारको भूमिका विषयक कार्यक्रममा यस्तो सुझाव प्राप्त भएको महानगरले जनाएको छ।

गएको वर्ष सूर्तीजन्य बस्तुको उत्पादकहरुलाई नागरिकको स्वास्थ्य र वातावरण सुधारका लागि जिम्मेवारी बनाउने लक्ष्य राखेर दिवस मनाइएको थियो । यस वर्ष ‘हामीलाई खाद्यान्न चाहिन्छ, सूर्तीजन्य पदार्थ होइन’ नारासहित दिवस मनाइँदैछ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले चुरोटमा कर बढाएर प्रयोगमा निरुत्साहन गर्ने नीतिलाई कडाइ गर्दै लगिने बताए। ‘सूर्तीजन्य बस्तुमा ७५ प्रतिशतसम्म कर लगाइएको अन्तरराष्ट्रिय अभ्यास छ । सूर्तीजन्य पदार्थको सेवनले प्रयोगकर्तालाई मात्र नभइ यसको नजिक हुनेलाई पनि समस्या पार्ने भएकोले यसलाई सानो विषय सम्झनु हुँदैन ।’ कार्यक्रममा नेपाल अर्वुद रोग निवारण संस्थाका पूर्व अध्यक्ष इश्वर श्रेष्ठले भने। मन्त्रालयको १ सय मिटर वरिपरि सूर्तीजन्य बस्तु विक्री वितरण भइरहेको, सार्वजनिक स्थलहरुमा सूर्तीजन्य पदार्थको निर्वाध विक्री र प्रयोग भइरहेकोप्रति सरकारहरुको संवेदनशीलता कम भएको उनले बताए। उनको भनाइमा जवाफ दिँदै मन्त्री बस्नेतले, सहभागिताबाट अवस्थामा सुधार गर्दै लैजाने बताएका छन्। 

काठमाडौँ महानगरपालिकाले सूर्ती नियन्त्रणका लागि नमूना क्षेत्र तोकेर काम गर्ने योजना बनाएको वडा ७ का अध्यक्ष बिमलकुमार होडाले बताए उनले भने, ‘नमूना कार्यक्रमको नतिजालाई विस्तार गरेर सबै वडामा कार्यक्रम लानेछौँ ।’

नेपाल सर्जिकल अङ्कोलोजी समाजका अध्यक्ष डा. प्रकाशराज न्यौपानेकाअनुसार धूम्रपान प्रयोगकर्ताहरु प्रयोग नगर्ने व्यक्तिका तुलनामा १३ देखि २० बर्ष अगाडि नै मृत्युवरण गर्छन् । चुरोटमा ७२ किसिमका रसायन हुन्छन् । यसमा भएका कार्सिनोजेनिक रसायनले क्यान्सर बनाउँछ । यस्ता रसायनयुक्त पदार्थको प्रयोगकर्ताबाट छोडिएको धुँवा तथा फोहोरले स्वास्थ्य र वातावरणमा प्रत्यक्ष असर पारेको छ । यस असरबाट सिर्जित समस्याबाट मानिसहरुले मृत्युवरण गरिरहेका छन् । 

उनका अनुसार आहारविहार र आचारविचारमा सानो मात्र परिवर्तन गर्न सकियो भने प्राणघातक समस्याबाट आफूलाई बचाउन सकिन्छ । 

अनुसन्धान विशेषज्ञ डा. जयकुमार गुरुङका अनुसार नेपालमा करिब ५० लाख वढी व्यक्तिले धूम्रपान गर्छन् । अहिलेको अवस्थालाई नियन्त्रण नगर्ने हो भने अबको २७ बर्षपछि अर्थात सन २०५० सम्ममा हरेक बर्ष करिब ५२ हजार नेपालीको सूर्तीजन्य बस्तुको प्रयोगका कारण मृत्यु हुनेछ ।

हुक्का संस्कृतिका प्रसङ्ग जोड्दै उनले भने, ‘युवा पुस्ताहरुमा बढ्दै गएको हुक्काको लतले जनस्वास्थ्यमा गम्भीर संकट ल्याउँदैछ । यसको जोखिमबाट नागरिकलाई बचाउन सरकारहरुले आजबाटै काम थाल्नुपर्छ ।’

सरकारहरुले निषेधभन्दा सार्वजनिक स्थानमा विक्री गर्न नपाउने, खुल्ला विक्री गर्न नपाउने, बालबालिकालाई बेच्न नपाउने जस्ता नियमनकारी भूमिकामा आफूलाई सक्रिय बनाउने, राजस्व बढाउने, सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जस्ता सुझावहरु कार्यक्रममा प्राप्त भएका छन् 

सूर्ती खान कुनै पनि माध्यमबाट कसैले पनि प्रोत्साहन गर्न मिल्दैन । सिनेमाहरुमा व्यक्तिको क्षमता देखाउन सूर्तीको प्रयोग देखाउने प्रवृत्ति छ। यसप्रकारका प्रवृत्ति घटाउनु पर्ने सूर्ती नियन्त्रण अभियानका अभियन्ता कर्ण शाक्यले बताए। ‘सूर्तीजन्य पदार्थ महङ्गो हुनुपर्छ । यसबाट आएको पैसाले अस्पतालमा उपचार गर्न नसक्नेलाई उपचार गराउनु पर्छ,’ उनले सुझाव दिए।