close

इच्छाकामना अस्पतालको अधुरो भवन बन्दै

इच्छाकामना अस्पतालको अधुरो भवन बन्दै

Trulli
ADVERTISEMENT

चितवन। जग्गा स्वामित्व विवादका कारण तीन वर्षदेखि अधुरै  रहेको चितवनको इच्छाकामना–४ कुरिनटारस्थित इच्छाकामना अस्पताल भवन पुनः निर्माण थालिएको छ । जग्गा स्वामित्वको विवाद समाधान भएसँगै भवन निर्माणको थप कार्य अघि बढेको हो ।  
 
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार जिल्ला वन कार्यालयले जग्गाको स्वामित्व दिन अस्विकार गरेपछि अस्पताल निर्माण रोकिएको थियो । चालु आर्थिक वर्षमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इच्छाकामना अस्पतालका लागि रू १८ करोड विनियोजन गरेको थियो । बोलपत्र आह्वान गरी रू १३ करोड ५९ लाख ११ हजार पाँच सय ७२ मा निर्माण गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरिएको उनले बताए। उनले आगामी साढे दुई वर्ष भित्रमा अस्पताल निर्माण सम्पन्न गर्ने गरी पुनः निर्माणको काम सञ्चालन गरिएको जानकरी दिए।

आर्थिक वर्ष २०७६/७७ मा गाउँपालिकाको रू १० करोड आन्तरिक लगानीमा २५ शय्याको अस्पताल निर्माण सुरु गरिएको थियो । सरकारले देशैभर ‘एक स्थानीय तह एक आधारभूत अस्पताल’ बनाउने योजना ल्याएपछि इच्छाकामना गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माणको योजना परेको थियो । उक्त योजनालाई पनि निर्माणाधीन इच्छाकामना अस्पतालको योजनामा गाभिएको थियो । 

अस्पताल निर्माण भइरहेको जग्गा अस्पतालको स्वामित्वमा नआएको भन्दै मन्त्रालयले बजेट दिन अस्वीकार गरेपछि रकम अभावका कारण अस्पतालको काम तीन वर्षदेखि अलपत्र बनेको थियो । गाउँपालिकाले अस्पताल निर्माण गरिरहेको जग्गा वन क्षेत्रमा पर्ने भन्दै जिल्ला वन कार्यालयले जग्गाको स्वामित्व दिन अस्वीकार गरपछि निर्माण रोकिएको थियो । स्थानीय जनप्रतिनिधिलगायत सबैको पहलकदमी र वन कार्यालयसँग पटक–पटक गरिएको छलफलपश्चात् अस्पतालको स्वामित्वमा जग्गा ल्याएर अस्पताल निर्माण पुनः सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए।  
  
अस्पताल सञ्चालनमा आएपछि इच्छाकामनासहित गोरखाको गण्डकी र सहिद लखन, तनहुँको आँबुखैरेनी र धादिङको बेनिघाट रोराङ गाउँपालिकाका जनतालाई सेवा दिन सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालको भनाइ छ । काठमाडौँ भित्रिने र बाहिरिने मुख्य राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड यसै क्षेत्र पर्ने भएकाले यस क्षेत्रमा हुने सवारी दुर्घटनाका घाइतेलाई समेत उपचार गर्न सहज हुने छ ।