close

महिला स्वास्थ्य स्वयंसेविकालाई नगदसहित बिदाइ

महिला स्वास्थ्य स्वयंसेविकालाई नगदसहित बिदाइ

Trulli
फाइल फाेटो।
ADVERTISEMENT

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)। गैँडाकोट नगरपालिकाले ६० वर्ष उमेर पूरा भएका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाइ गरेको छ । 

बिहीबार नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख मदनभक्त अधिकारीले ६० वर्ष उमेर पूरा भएका चार, जनप्रतिनिधिमा निर्वाचित एक तथा एक जनालाई मरणोपरान्त सम्मान गरेका हुन्। स्वास्थ्य स्वयंसेविका कार्यक्रम लागू भएको २०४७/४८ देखि निरन्तर सेवारत उनीहरुलाई नगरपालिकाका तर्फबाट सेवा अवधिका आधारमा प्रोत्साहन रकम उपलब्ध गरिएको नगर स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत झलकराज पौडेलले जानकारी दिए। 

नगरपालिकाले सम्मान गरेका पाँचमध्ये वडा नं ५ की स्वर्गीय पार्वती भण्डारीलाई मरणोपरान्त सम्मान तथा आश्रित परिवारलाई रु एक लाख हस्तान्तरण गरेको थियो । वडा नं १८ की लालमती आले, वडा नं १२ की सुशीला सापकोटा र वडा नं १७ की तारा सुवेदीलाई रु एक÷एक लाख तथा वडा नं ५ की श्रीमाया तिवारीलाई रु ८० हजारको साथमा सम्मान पत्रसहित बिदाइ गरिएको पौडेलले बताए। 

तिवारीको सेवा अवधि १६ वर्ष मात्रै पुगेकाले उहाँलाई रु ८० हजार प्रदान गरिएको पौडेलले जानकारी दिए। वडा नंं १७ बाट जनप्रतिनिधिमा निर्वाचित पूर्व सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका मानकुमारी सापकोटा सम्मान पत्रले सम्मानित भएकी छिन्। उनी जनप्रतिनिधिका रुपमा निर्वाचित भएकाले प्रोत्साहन रकम उपलब्ध गराउन नीतिगत समस्या रहेकाले उहाँलाई सम्मानपत्रबाट मात्रै सम्मानित गरिएको नगरपालिकाले जनाएको छ । 

साठी वर्ष उमेर र १० वर्ष सेवा अवधि पूरा गरेका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई स्थानीय सरकारबाहेक स्वास्थ्य कार्यालयमार्फत थप रु २० हजार प्रोत्साहन रकम प्रदान गरिने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले बताए। उमेर पुगेर सेवाबाट अवकाश पाएका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको स्थानमा यसअघि नै सम्बन्धित वडा तथा टोलका आमा समूहको सहमति र सिफारिसमा नयाँ व्यक्ति छनोट गरिसकिएको जनाइएको छ । गैँडाकोटका नगर प्रमुख मदनभक्त अधिकारीले स्वयंसेविकाको सेवासुविधालाई क्रमशः वृद्धि गर्दै लैजाने नगरपालिकाको योजना रहेको बताए। 

महिला स्वास्थ्य स्वयंसेविकाले घरघरमा पुगेर स्वास्थ्य सन्देश प्रवाह र सेवाको भूमिकामा उल्लेख्य योगदान पुर्याएका अधिकारीले बताए। नगरपालिकाले आगामी आर्थिक वर्षदेखि स्वास्थ्य स्वयंसेविकाको सेवाको मूल्याङ्कन गर्दै मासिक रु तीन हजार प्रोत्साहन र रु दुई सय सञ्चार खर्चबापत उपलब्ध गराउने नीति पारित गरेको छ । यसअघि उनीहरुले नगरपालिकाबाट मासिक रु एक हजारमात्रै पाउने गरेका थिए । यसबाहेक उनीहरुले सङ्घमार्फत मासिक रु एक हजार तथा पोशाकबापत वार्षिक रु १० हजार पाउने गरेका छन् ।