close

चौरजहारी नगरपालिकामा सुरु भयो रुकुम पश्चिमकै पहिलो ब्लड बैंक

चौरजहारी नगरपालिकामा सुरु भयो रुकुम पश्चिमकै पहिलो ब्लड बैंक

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम– चौरजहारी नगरपालिकामा पहिलो पटक रुकुम पश्चिमकै पहिलाे ब्लड बैंक सञ्चालनमा आएको छ । नेपाल रेडक्रस सोसाइटी चौरजहारी शाखाको पहल र चौरजहारी नगरपालिकाको लगानीमा वडा नं १ मा ब्लड बैंक सञ्चालनमा आएको हो । 

दुई वर्ष अघि ब्लड बैंक स्थापनाको तयारी भए पनि बीचमा यो काम अलपत्र परेको थियो । अलपत्र परेको ब्लड बैंक निर्माण हाल पूरा भएको रेडक्रस चौरजहारी शाखाका कोषाध्यक्ष गोपाल लामिछानेको भनाइ छ । 

ब्लड बैंक निर्माणका लागि हालसम्म रु ४० लाख खर्च भइसकेको छ । जसमध्ये भवन निर्माणमा रु २८ लाख र बाँकी रकम उपकरण व्यवस्थापनमा खर्च भएको उनले जानकारी दिए। भवन निर्माणसहित शय्या, फर्निचर, कार्यालय व्यवस्थापन, सोलार, तारबारलगायतका काम  सोही बजेटबाट भएको उनको भनाइ छ । 

ब्लड बैंक स्थापना भएपछि अब चौरजहारी अस्पताल र जिल्ला अस्पताल सल्लेमा रगत अभाव नहुने विश्वास लिइएको छ । हाल सुत्केरी, गर्भवती, विभिन्न दुर्घटनामा परेका घाइते तथा विभिन्न बिरामीलाई रगत आवश्यक पर्दा विभिन्न व्यक्तिलाई गुहार्नुपर्ने बाध्यता छ ।