close

स्वास्थ्य सेवाको लागि लालबन्दीमा नगर अस्पताल

स्वास्थ्य सेवाको लागि लालबन्दीमा नगर अस्पताल

Trulli
ADVERTISEMENT

सर्लाही- लालबन्दी नगरपालिकाले चालू आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ । स्थानीय बासिन्दालाई स्वास्थ्य क्षेत्रमा सहज पहुँच पुर्याउनका लागि नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेको हो । 

नगरप्रमुख बासुदेव अधिकारीले पालिकाभित्र दुर्गम तथा पहाडी क्षेत्र धेरै भएकोले स्वास्थ्य सेवा लिन समस्या भएको बताए । त्यसैले नगरपालिकाकाे स्वास्थ्य क्षेत्रकाे विकासकाे लागि नगरसभाबाट करिब साढे ४ करोड रुपैयाँ बजेट विनियोजन भएको उनले जानकारी दिए  । 

पालिकाका दुर्गम क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा लिन सदरमुकाम पुग्नुपर्ने बाध्यता भएकाले पालिकामा नगरअस्पताल निर्माण गर्न लागिएकाे नगरप्रमुख अधिकारीले बताए ।  ‘यो वर्ष हामीले नगर अस्पताल निर्माणको लागि ठेक्का लगाएका छौँ,’ उनले भने, ‘वडा नम्बर ६ मा अब चाडैँ निर्माण कार्य सुरु हुनेछ ।’

नगर अस्पतालकाे अभावमा लालबन्दी स्वास्थ्य केन्द्रबाट  पालिकावासीले सेवा लिँदै आएको उनले बताए । ‘यो वर्षबाट स्वास्थ्य केन्द्रमा प्रसुती सेवा सञ्चालन गर्ने योजना छ । एम्बुलेन्स खरिदको लागि स्वास्थ्य मन्त्रालयमार्फत माग गरिएको छ,’ उनले पालिकाखबरसँग भने । 

स्वास्थ्य क्षेत्रको लागि आवश्यक कर्मचारी सरकारी दरबन्दी तथा पालिकाले आन्तरिक स्रोतमार्फत व्यवस्थापन गरेको उनले सुनाए । उनका अनुसार संघीय सरकारबाट समायोजनमार्फत अपुग कर्मचारी पालिकाले विज्ञापनमार्फत प्रतिस्पर्धा गरी व्यवस्थापन गरेको छ । 

आगामी वर्षहरुमा स्थानीय बासिन्दाले सहज रुपमा स्वास्थ्य सेवा पाउने उनको दावी छ । स्वास्थ्यसँगै शिक्षा र कृषिलाई प्राथमिकतामा नगरपालिकाले राखेकाे उनले सुनाए ।