close

रोकिएन डेंगी संक्रमण : स्थानीयको असावधानी, मेयरलाई अपजस

रोकिएन डेंगी संक्रमण : स्थानीयको असावधानी, मेयरलाई अपजस

Trulli
ADVERTISEMENT

काठमाडौं -  ‘खोलाको गुहे पानीको परिणाम हो । दूषित पानीमा लार्भा जन्मिन्छ । कोकाहाको पानी नआउँदासम्म यस्तो कहिल्यै भएन धरानमा ।’ धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङको फेसबुक स्टाटसमा शिव बस्यालले गरेको कमेन्ट हो यो । 

धरानमा महामारीको रूपमा फैलिएको डेंगी सङ्क्रमण नियन्त्रणका लागि सञ्चालित ‘लार्भा खोज र नष्ट गर’ अभियानबारे साम्पाङले केही दिनअघि आफ्नो फेसबुक पेजमा भिडियोसहितको स्टाटस पोस्ट गरेका थिए । उक्त पोस्टमा बस्यालले नगरप्रमुखकै कारण डेंगी फैलिएको आरोप लगाएको प्रस्ट हुन्छ । 

सुनसरी डेंगीको 'हटस्पट' बनेपछि उनलाई यस्तै आरोपहरू लाग्न थालेका छन् । डेंगी नियन्त्रणका लागि धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङको नेतृत्वले 'लार्भा खोज र नष्ट गर' कार्यक्रम, सरसफाइलगायतको अन्य योजना सञ्चालन गर्दै आएका छन् । तर उनीमाथि  लागेको आरोप पनि उत्तिकै छ । 

काठमाडौं, वीरगञ्ज, पोखरा, विराटनगरजस्ता ठूला सहरहरूमा भन्दा धरानमा डेंगी संक्रमित धेरै देखिएपछि विरोधीहरूका लागि मसला बनेको छ ।  तुलनात्मक रूपमा धरानमा डेंगी संक्रमित केही घटेका छन् तर, नियन्त्रण भने हुन सकेको छैन । 

साम्पाङको स्ट्याटसमा नकारात्मक टिप्पणी आए पनि उनी पोष्टयाउने कार्यलाई रोकेका भने छैनन् । उनका अधिकांश पोस्टमा लेखिएको छ, ‘जम्मा गरेको पानीमा लार्भा हुन सक्छ । छोपेर राखौँ।  ३/३ दिनमा पानी पानी फालौँ । डेंगीको लार्भा खोज्ने र मार्ने काम जारी राख्नुपर्छ ।’

उनका हरेक पोस्टमा डेंगी फैलाएको सँगै पास्टर, गोरु वा गाईको मासु खाने, तथा अन्य विभिन्न ‘ट्याग’ भिडाएर आरोप लगाउँदै आएका छन् । नगरप्रमुख साम्पाङको सोही पोस्टमा उद्धव घिमिरेले कमेन्टमा लेखेका छन्, ‘मेयरसाब, घरघरमा कुदेर साध्य हुँदैन हौ, औषधि उपलब्ध गराइदिनुस् घर प्रत्येकले स्प्रे गर्छन् आफ्नो आफ्नोमा नगरे मर्छन् नि हौँ । यसरी साध्य हुँदैन । कुन दिन आफैँलाई टोकेर सेन्टिफ्लाट होइएला ।’ 

केही साता अघि नगरप्रमुख साम्पाङले डेंगी प्रकोप नियन्त्रण गर्न जनताको घरदैलोमा आफैँले फगिङ गर्दै हिँडेका थिए । सो भिडियोलाई कैद गरी उनले सामाजिक सञ्जालमा प्रस्ट्याएका थिए । भिडियोमा उनी एक्लै भए पनि अन्य व्यक्तिको पनि सहभागिता देखिन्छ । 

उनको सो पोस्टमा ध्रुव पौडेल कमेन्टमा लेख्छन्, ‘यो त अति भयो है हर्क दाजु कमसेकम एक/दुई जना कर्मचारी त राख्नुपर्छ नि अनि यो देखाउनलाई हो की साँच्चिकै गर्न लाग्या हो ?’

तिलक प्रसाद पाण्डे लेख्छन्, ‘मेयर जस्तो व्यक्तिले सबै काम आफैँ गर्न सम्भव हुँदैन । सबै काम आफैँ होइन । एउटा सामान्य कर्मचारी खटाउन सकिन्छ ।’

उनको सो पोस्टमा अमृत श्रेष्ठले सुझावसहित कमेन्टमा भनेका छन्, ‘सडक झाडु लाउन बाँकी रह्यो कि त्यो पनि गरिसके ? यी सब गर्दा सस्तो लोकप्रियता कमाउन गरेका हुन् कि जस्तो लाग्छ । यी सब गर्नलाई नगरपालिकामा कर्मचारी छदैछन् नि । मेयर भइसकेपछि त अरू समस्या नयाँ सोचतिर दिमाग लगाको बेस ।’

नगरप्रमुख साम्पाङको ‘मलाई असफल बनाउन यी सब गरेका रे’ पोस्टमा धड्कन धड्कन लिम्बु कमेन्टमा लेखेका छन्, ‘तपाईले सिद्धिने काम आफैँले गरेको हो ।  आफूबाहेक सबैलाई लठुवा देख्नुको पराकाष्ठा हो ।’ उनको सोही पोस्टमा रमेश पौडेल कमेन्ट गर्छन्, ‘जनताले दिएको समर्थन र साथले तिमीमा निकै घमण्ड पलाएछ हर्क दाइ ।’

के हर्कले सारेका हुन त डेंगी ?

सामाजिक सञ्जालको कतिपय कमेन्टलाई विश्लेषण गर्दा नगरप्रमुख हर्क साम्पाङले गर्दा धरानमा डेंगी सङ्क्रमण फैलिएको जस्तो लाग्छ । तर नगरप्रमुखले नभई स्थानीय बासिन्दाको लापरबाही, राजनीतिक दलको बेवास्ताको कारणले धरानमा डेंगी सङ्क्रमण बढेको बताइन्छ । 

उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत उमेश मेहताका अनुसार नगरप्रमुख साम्पाङले डेंगी नियन्त्रणको लागि सक्दो सहयोग गर्दै आएका छन् । ‘नगरप्रमुखले आफैँ उपस्थित भएर सक्दो सहयोग गर्नुभएको छ,’ उनले भने, ‘उहाँले राम्रो गर्दै आउनु भएको छ । विरोधीले नेगेटिभ भनिहाल्छन् नि ।’ 

नगरप्रमुख  स्वतन्त्रबाट जितेर आएकाले अन्य  राजनीतिक दलले सहयोग नगरेको आरोप उनले लगाएका छन् । ‘वडाध्यक्ष तथा अन्य जनप्रतिनिधिले गर्नु पर्ने काम गर्नु भएको छैन,’ उनले भने । अन्य जनप्रतिनिधिले नगरप्रमुखलाई आवश्यक सहयोग गरेमा डेंगी सङ्क्रमण चाँडै नियन्त्रण हुने उनले बताए । तर पछिल्लो समय सबैले आवश्यक सहयोग गरेको उनको भनाइ छ । 

उनका अनुसार पालिकाभित्र टोल विकास समिति गठन गरिएको छ । सोही समितिले विकास निर्माणको कार्यमा सहयोग गर्नुपर्ने भए पनि वडा कार्यालयले परिचालन गर्न सकेको छैन । सबै कार्यमा नगरप्रमुखले ‘जस’ लिने डरले पनि सहयोग नभएको उनले पालिकाखबरलाई बताए । 

डेंगी नियन्त्रणमा धरानको प्रयास 

देशभर डेंगी संक्रमित २१ हजार २०६ जना पुगेका छन् । जसमध्ये कोसी प्रदेशमा मात्र १६ हजार २१६ जना छन् भने सुनसरी जिल्लामा ११ हजार २५९ जना  संक्रमित छन् । सुनसरीको संख्या कुल सङ्क्रमितको सङ्ख्यको ५५ प्रतिशत हो । पहिलेको तुलनामा हाल केही मात्रामा सङ्क्रमण नियन्त्रण आएको उपमहानगरका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले सुनाए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म डेंगी सङ्क्रमणबाट १३ जनाको ज्यान गएको छ भने ७५ जिल्लामा सङ्क्रमण फैलिएको छ । मुगु र हुम्लाबाहेक सबै जिल्लामा सङ्क्रमण फैलिएको मन्त्रालयले जनाएको छ । 

केही महिनायता पालिकाभित्रका सबै संस्था, जनप्रतिनिधि तथा राजनीतिक दलले आवश्यक सहयोग गरेकोले पहिलेको तुलनामा केही नियन्त्रण भएको उनले बताए । ‘हाल हप्ताको दुई दिन सबै वडामा एकै पटक लार्भा सङ्कलन र नष्ट गर्ने कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । दैनिक ३०० घरमा लार्भा खोजेर नष्ट गरिँदै आएका छ,’ उनले भने । 

उनका अनुसार उपमहानगरपालिकाले विद्यालय, संघ संस्था, स्थानीय बासिन्दा, प्रतिनिधिसँग समन्वय गरी जनचेतना कार्यक्रम, सरसफाइ कार्यक्रम सञ्चालन हुँदै आएको छ । 

उनले संक्रमितलाई उपमहानगरपालिकाले निःशुल्क उपचार गर्दै आएको उनले बताए । डेंगीको लक्षणअनुसार  बिपी कोइराला स्वास्थ्य प्रतिस्थान र महानगरको ८ वटा स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्दै आएका छौँ,’ उनले भने ।  

विभिन्न सङ्घसंस्थाबाट सहयोगमा अति प्रभावित क्षेत्रमा गर्भवती महिलालाई झुल वितरण कार्यक्रम सञ्चालन गर्ने योजना पालिकाको छ । लामखुट्टे धपाउने औषधि उपलब्ध तथा वितरण गरिने उनले बताए ।

धरानमा किन फैलियो डेंगी ?

डेंगी सङ्क्रमण गर्ने लामखुट्टेको लार्भा हुर्कनका लागि धरानमा उपयुक्त वातावरण भएकोले सङ्क्रमितको संख्या बढेको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले बताए । धरानमा पानीको अभाव भएकाले पनि लार्भा हुर्कनको लागि सहज भएको उनले सुनाए । 

‘डेंगी एक त महामारीको रूपमा फैलिन्छ,’ उनले भने, ‘धरानमा सधैं पानी आउँदैन । पानी आएको दिन विभिन्न भाँडाकुँडामा सञ्चित गरेर राखिन्छ ।’ भाँडामा सञ्चित पानीलाई छोपेर नराख्दा लार्भा सजिलै हुर्कने उनले बताए । 

उनले धरान सफा सुग्घर भएकाले सोही अनुरूप बसोबास रहेको बताए । ‘बसोबास अनुसार गमलामा पानी राखेर फूल रोप्ने गर्छ । गमलामा जमेको पानीले पनि लार्भा हुर्काउन मद्दत गर्छ,’ उनले भने । 

डेंगी सङ्क्रमणबारे स्थानीय बासिन्दा सचेत भएता पनि व्यावहारिक रूपमा नभएकाले उनले बताए । सचेतना कार्यक्रममा हामी सङ्क्रमणबारे सबैलाई सोध्छौँ । सबैले उपयुक्त जानकारी दिनुहुन्छ, उनले भने, तर सोही कुरा व्यवहारमा लागू गरेको हुँदैन । 

उनले भाडामा जमाएको पानीलाई छोपेर राख्ने तथा हप्तामा दुई पटक सफा गर्नुपर्ने उनले बताए ।