close

मालिका गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन

मालिका गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन

Trulli
ADVERTISEMENT

म्याग्दी– मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आधारभूत अस्पताल सञ्चालन भएको छ । मालिका गाउँपालिकाले दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई पाँच शय्या क्षमताको आधारभूत अस्पतालमा स्तरोन्नति गरेको हो । गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले गत असारको गाउँसभा र साउन १० गतेको कार्यपालिकाको बैठकको निर्णयानुसार आधारभूत अस्पतालको सेवा सञ्चालन गरिएको जानकारी दिए । 

‘प्राथमिक स्वास्थ्य केन्द्रमा पूर्वाधार, जनशक्ति र उपकरण व्यवस्थापन गरेर पाँच शय्याको अस्पताल सञ्चालन गरेका छौँ’, उनले भने, ‘अस्पतालबाट मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन् ।’ अस्पतालको सोमबार गण्डकी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्घाटन गरिन् । 

आधारभूत अस्पताल सञ्चालन गर्न निक साइमन इन्स्टिच्युटले एक चिकित्सक, एक रेडियोग्राफर र एक जना स्टाफ नर्सको जनशक्ति सहयोग गरेको छ । एक चिकित्सकको दरबन्दी रहेको अस्पतालमा छात्रवृत्तिमा अध्ययन गरेका थप एक चिकित्सक आएका छन् ।

यसअघि एक जना चिकित्सकसहित १६ स्वास्थ्यकर्मी र कर्मचारीको दरबन्दी थियो । आधारभूत अस्पतालका लागि गाउँपालिकाले थप रु ३२ लाख अनुदान दिएको अध्यक्ष गर्बुजाले बताए । निक साइमन इन्स्टिच्युटले रु १० लाख मूल्य बराबरको उपकरण र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । गाउँपालिकाले रु पाँच लाख मूल्य बराबरको औषधि व्यवस्थापन गरेको छ । 

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको गुुणस्तर सुुधार गरी अस्पताल बनाउन विसं २०७८ देखि नै प्रक्रिया सुुरु भएको थियो । सुुरुमा कोरोना अस्पताल र त्यसैलाई विस्तार गरी आधारभूूत अस्पताल बनाइएको हो । प्राथमिक स्वास्थ्य केन्द्रबाट यसअघि आकस्मिक र कार्यालय समयमा स्वास्थ्य परीक्षण सेवा दिँदै आएको थियो । अस्पतालमा रुपान्तरण भएपछि चौबीसै घण्टा बिरामीलाई भर्ना गरेर सेवा दिन थालिएको छ । अस्पताल सञ्चालनपछि उपचार गर्न बेनी, बागलुङ, पोखरा, काठमाडौँलगायत सहरमा पुग्नुपर्ने बाध्यता हट्ने मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए । 

सदरमुकाम बेनीबाट २४ किलोमिटर पश्चिममा रहेको सो केन्द्र २०७३ सम्म हेल्थ असिस्टेन्ट, अहेब, अनमी र नर्सको भरमा सञ्चालन हुँदै आएको थियो । हाल प्रयोगशाला, एक्सरे, अल्ट्रासाउन्ड, मुटुको इसिजी, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने स्क्रिनिङ, हातखुट्टा भाँचिएको प्लास्टर सेवा दिइरहेको केन्द्रले आफ्नै औषधि पसल सञ्चालन गरेको छ । भवन बनाइएकाले शव परीक्षणको काम पनि दरवाङमै गर्ने तयारी भएको छ । दरवाङमा शवगृह नहुँदा दुर्घटना र आत्महत्या गरेर ज्यान गुमाएकाको शव परीक्षण गर्न बेनी ल्याउनुपर्ने समस्या छ ।