close

नियमित गर्भ परीक्षण गर्नेलाई दुई हजार ८०० पुरस्कार

नियमित गर्भ परीक्षण गर्नेलाई दुई हजार ८०० पुरस्कार

Trulli
फाइल फोटो
ADVERTISEMENT

स्याङ्जा- हरिनास गाउँपालिकाले सुत्केरीसँग उपाध्यक्ष पोषण कार्यक्रम सञ्चालनमा ल्याएसँगै मातृशिशुको स्वास्थ्यमा सुधार आएको छ । गाउँपालिकाले हजार दिने आमा तथा शिशुको स्वास्थ्यलाई ध्यानमा राखी तीन वर्ष अघिदेखि कार्यक्रमलाई निरन्तरता दिइरहेको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट अधिकृत तथा पालिकाका सूचना अधिकारी विदुर सिग्देलका अनुसार पालिकाले हजार दिने आमा तथा शिशुको पोषणका लागि कार्यविधि पारित गरी कार्यक्रम सञ्चालनमा ल्याइएको हो । गाउँपालिकाले गर्भवती आमा तथा शिशुको पोषणका लागि विशेष कार्यक्रम ल्याएको उनले पालिकाखबरलाई बताए । 

कार्यक्रम सञ्चालनमा ल्याएसँगै स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउनेको संख्या बढेको उनले बताए । गाउँपालिकाका अधिकांश गर्भवती महिला बर्थिङ सेन्टरमै सुत्केरी गराउँदै आएका छन् । कार्यक्रमबाट गाउँपालिकामा 'शून्य होमडेलिभरी'को लक्ष्य नजिक पुगे पनि होमडेलिभरी गर्नेको तथ्यांक आफूसँग नभएको उनको भनाइ छ ।

गर्भवती महिलाले स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गराएमा रकम वितरण गर्ने उनले सुनाए । ‘नियमित गर्भ परिक्षण गर्ने महिलालाई सुत्केरी भएपछि पोषण खर्च स्वरुप सरकारले दिने रकममा गाउँपालिकाबाट थप दुई हजार ८ सय रुपैयाँ नगद दिने गरेका छौँ,’ उनले भने, ‘सो रकम स्वास्थ्य संस्थाले गर्भवती महिलालाई वितरण गर्छ । स्रोत भर्ना स्वरुप गाउँपालिकाले स्वास्थ्य संस्थालाई दिन्छौँ ।’ 

उनका अनुसार गाउँपालिकामा दुई वटा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् । गाउँपालिकाले थप एउटा बर्थिङ सेन्टर सञ्चालनमा ल्याउँदै छ । उनले भने, ‘बर्थिङ सेन्टरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । चाँडै सञ्चालनमा आउने छ ।’ 

गाउँपालिकाले सञ्चालनमा ल्याएको सो कार्यक्रम अधिकांश स्थानीय बासिन्दालाई जानकारी भएको उनले सुनाए । थप जानकारी दिनको लागि गाउँपालिकाले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ । 

‘अधिकांश स्थानीय बासिन्दालाई कार्यक्रमबारे जानकारी छ,’ उनले भने, ‘थाहा नभएका स्थानीय बासिन्दाको लागि वडा कार्यालय, वडा समिति तथा सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविकामार्फत जानकारी दिँदै आएका छौँ ।’