close

कुपोषित बालबालिकालाई शून्यमा झार्न विविध कार्यक्रम

कुपोषित बालबालिकालाई शून्यमा झार्न विविध कार्यक्रम

Trulli
ADVERTISEMENT

धादिङ - गजुरी गाउँपालिकामा कुपोषित बालबालिकाको संख्या न्यूनिकरण हुँदै आएको छ । गाउँपालिकाले कुपोषण लक्षित विभिन्न कार्यक्रम ल्याएसँगै न्यूनिकरण हुँदै आएको छ । 

गाउँपालिकाको स्वास्थ्य शाखाका सह-संयोजक सुन्दरकुमार श्रेष्ठका अनुसार पालिकाले कुपोषण नियन्त्रणका लागि गत पाँच वर्षदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । 'शान्ति नेपाल' नामक संस्थासँग सहकार्य गरी गाउँपालिकाले वृत्ति अनुगमन केन्द्र सञ्चालन गर्दै आएको उनले बताए । 

सो केन्द्रले गाउँपालिकाभित्रका ५० वटा स्थानमा सहजकर्ताहरुको सहयोगबाट पोषण नापन गर्दै आएको उनले पालिकाखबरलाई बताए । ‘गाउँपालिकामा सिजनल कुपोषित बालबालिका छन्,’ उनले भने, ‘वर्षायाममा खाद्यान्न अभाव हुने गर्दछ । त्यसैले वर्षायाममा कुपोषण समस्या बढी देखिन्छ ।’ 

तर विगतको वर्षको तुलनामा हाल कुपोषित बालबालिकाको संख्यामा कमी आएको उनले सुनाए । ‘पहिलेकोभन्दा हाल कुपोषितको संख्यामा कमी आएको छ । पहिले वार्षिक ३० जनासम्म कुपोषित बालबालिका थिए । गत वर्ष ७ जना र हाल ४ जना मात्रै कुपोषित बालबालिका रहेका छन्,’ उनले भने ।

उनका अनुसार गाउँपालिकामा हाल ४ जना कुपोषित बालबालिका दर्ता भएका छन् । सो बालबालिकाको उपचार ओटिसी (कुपोषित बालबालिका उपचार केन्द्र) बाट गर्दै आएको उनले सुनाए । आगामी वर्ष कुपोषित शून्यमा झार्ने लक्ष्य लिएको उनले सुनाए । गाउँपालिकाका दुई वटा स्वास्थ्य केन्द्रमा ओटिसी सञ्चालनमा रहेको उनले बताए ।

कुपोषण कम गर्नको लागि संघीय सरकारले सर्सत अनुदानमा बजेट विनियोजन गरेको उनले सुनाए । सो बजेटबाट २४ महिनासम्मको बालबालिकाको निगरानी गर्ने भए पनि गाउँपालिकाले पाँच वर्षसम्मको बालबालिकाको हेरचाह गर्दै आएको उनको भनाइ छ ।

‘गाउँपालिकाले पनि विगत पाँच वर्षदेखि कुपोषणका लागि वार्षिक १५ लाख रुपैयाँ बजेट विनियोजन गर्दै आएका छौँ । सो बजेटले पनि हामीलाई सहयोग पुगेको छ,’ उनले भने, ‘सोही बजेटबाट हामीले कुपोषित बालबालिकालाई नजिकबाट हेरचाह तथा निगरानीमा राख्छौँ ।’
उनका अनुसार गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ मा कुपोषण समस्या बढी हुने गरेको छ । सो वडामा सीमान्तकृत तथा चेपाङ समुदायको बसोबास बढी भएकाले बढी भएको उनले बताए । 

गाउँपालिकाले कुपोषण नियन्त्रणका लागि 'सुत्केरी पोषण' कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ । सो कार्यक्रममार्फत पोसिलो खानेकुराको लागि सरकारले दिनेभन्दा थप दुई हजार ५०० रुपैयाँ सुत्केरी महिलालाई वितरण गरिन्छ । सोबाट पनि अप्रत्यक्ष रुपमा सहयोग पुग्ने उनको भनाइ छ ।