close

दश मिनेटको दूरीमा स्वास्थ्य संस्था

दश मिनेटको दूरीमा स्वास्थ्य संस्था

Trulli
ADVERTISEMENT

बारा- करैयामाई गाउँपालिकाले आधारभूत स्वास्थ्य चौकी सञ्चालनमा ल्याउन  लागेको छ । गाउँपालिकाले आन्तरिक स्रोतबाट वडा नम्बर ७ मा आधारभूत स्वास्थ्य चौकी सञ्चालनमा ल्याउन लागेको हो । 

गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक जितेन्द्र पासवानका अनुसार पालिकाभित्र ८ वडा रहेकाेमा सबै वडामा स्वास्थ्य संस्थाको पहुँच छ । पालिकामा २ वटा आधारभूत स्वास्थ्य केन्द्र, ६ वटा स्वास्थ्य चौकी र र दुई वटा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् । तर वडा नम्बर ७ को भूगोल ठूलो भएकाले एउटा स्वास्थ्य चौकी थप गरेको उनले पालिकाखबरलाई बताए । 

निर्माणाधीन स्वास्थ्य चौकीको लागि गत वर्षको बजेटबाट भवन निर्माण गरिसकेको र चालु आर्थिक वर्षमा आवश्यक सामग्री खरिद गर्नको लागि बजेट विनियोजन गरेको उनले सुनाए । सो स्वास्थ्य चौकी सञ्चालनमा आएसँगै सबै क्षेत्रमा कम्तिमा दशदेखि पन्ध्र मिनेटको दूरीमा स्वास्थ्य चौकी पुग्ने उनको दावी छ । 

स्वास्थ्य चौकीको लागि आवश्यक कर्मचारीको पनि व्यवस्थापन भएको उनले सुनाए । ‘संघीय सरकार र पालिकाले करार कर्मचारीको व्यवस्थापन गरेको छ । आवश्यक सामग्री पालिकाले नै खरिद गरी सञ्चालन हुनेछ,’ उनले भने । 

उनका अनुसार गाउँपालिकाको वडा नम्बर १ मा संघीय सरकारबाट १० शय्या क्षमताको नगरअस्पताल निर्माण भइरहेको छ । सो अस्पतालको करिब ६० प्रतिशत काम सम्पन्न भएको उनले सुनाए । 

अस्पताल सञ्चालनमा आएसँगै स्वास्थ्यसम्बन्धी सबै उपचार सञ्चालन हुने उनको भनाइ छ । हाल स्वास्थ्य संस्थाबाट सामान्य उपचार हुँदै आएको र आकस्मिक सेवाको लागि वीरगन्ज पुग्नुपर्ने उनले सुनाए ।