close

गल्ती गर्ने आमाबुबा : पोषण भत्ताबाट बञ्चित हुने शिशु

बाल विवाहको कारण नागरिकता बनाउन जान पनि डराउँछन्, सन्तानको जन्मदर्ता पनि गर्दैनन्

गल्ती गर्ने आमाबुबा : पोषण भत्ताबाट बञ्चित हुने शिशु

बाल विवाहको कारण नागरिकता बनाउन जान पनि डराउँछन्, सन्तानको जन्मदर्ता पनि गर्दैनन्

Trulli
ADVERTISEMENT

अछाम– मेल्लेख गाउँपालिकामा बाल विवाह न्यूनीकरण गर्न ४ वर्षे अभियान चलाएको पूरा भएर अर्को वर्ष लागिसक्यो । तर बालविवाह गर्नेको संख्या केही घट्नुबाहेक खास उपलब्धि हासिल हुन नसकेको गाउँपालिकाको तथ्यांकले देखाउँछ । गाउँपालिकाले २०७९ सम्म पालिकाभित्र बाल विवाह अन्त्य गर्ने योजना बनाई ‘बाल विवाह अन्त्यको लागि मेल्लेख गाउँपालिकाको रणनीति योजना २०७६–२०७९’ बनाएको थियो । तर गत आर्थिक वर्षमै १८ जोडीले बालविवाह गरेका थिए । लुकाउने र विवाह दर्ता नहुने भएकाले यो संख्याभन्दा धेरैले बालविवाह गरेका हुनसक्ने पालिकाको भनाइ छ । 

गाउँपालिकाले बाल विवाहको अन्त्यको प्रयास गरे पनि १८ वर्ष भन्दा कम उमेरमा विवाह गर्ने बालबालिका खास घट्न नसकेको शिक्षा शाखा प्रमुख विरेन्द्र खड्का बताउँछन् । उनी भन्छन्, ‘पहिलेको तुलनामा बाल विवाह कम भएको छ । तर सोचेजस्तो भएको छैन ।’

बाल विवाहको अन्त्यका लागि गाउँपालिकाले बाल क्लब र युवा क्लब गठन गरेर सक्रिय बनाएको गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख सावित्रा खड्का बताउँछिन् ।  ‘बाल क्लब गठन गरेर क्लबको खातामा गाउँपालिकाले पैसा पनि राखेको छ,’ गाउँपालिकामा बाल क्लब पहिलेदेखि नै भए पनि ८ महिनाअघि पुनर्गठन गरेर सक्रिय रुपमा चलाएको उनले बताइन् ।

गाउँपालिकाको ८ वटै वडामा बालक्लब गठन गरिएको छ । सबै बाल क्लबले हरेक महिना नियमित बैठक सञ्चालन गर्छ । पछिल्लो समयमा गाउँपालिकामा बाल विवाहको न्यूनीकरणको लागि बाल क्लबले सक्रिय भूमिका खेलेको उनले जानकारी दिइन् । 

गाउँपालिकामा बाल विवाहको अन्त्यको लागि गैरसरकारी संस्थाले पनि काम गरिरहेको उनले पालिकाखबरसँग बताइन् । उनी भन्छिन्, ‘आस्था नेपाल र वाक नेपाल संस्थाले मेल्लेख गाउँपालिकासँग सहकार्य गरेको छ । ती संस्थाहरूले बालबालिकालाई तालिम दिने, बालविवाह नियन्त्रण गर्न सक्रिय भूमिका खेलेको छ ।’

पालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाभन्दा पहिले नर्सिङ शाखामा करिब तीन वर्ष काम गरेको अनुभव सुनाउँदै पालिकामा किशोरी आमा धेरै भएको उनी बताउँछिन् । ‘सुत्केरी हुन आउने महिलामा धेरैजना किशोरी नै हुन्थे । उनीहरूको न त नागरिकता बनेको हुन्थ्यो त विवाह दर्ता नै,’ उनले भनिन् । 

अभिभावकले बाल विवाह गर्दा कतिपय शिशु पोषण भत्ता पाउनबाट बञ्चित रहेको उनले बताइन् । ‘आमा बुबाले नै सानो उमेरमा विवाह गरेका हुन्छन् । बाल विवाहको कारण नागरिकता बनाउन जान पनि डराउँछन् ।’ बाल विवाह गर्ने बालबालिकाको सन्तानको जन्मदर्तामा पनि समस्या हुने गरेको उनले बताइन् । 

कानुनले नै बालविवाहलाई बन्देज गरेकाले पछिल्लो समय मागी बाल विवाहको घटना भने कम भएको छ । उनी भन्छिन्, ‘अचेल मोबाइलका कारण पनि बालबालिकाहरु बढी प्रेम विवाह गरिरहेका छन् । उनीहरुको भेटघाट भएको हुँदैन । मोबाइलबाट चिनजान भएकै भरमा अरु जिल्लामा सम्म भागेर बिहे गर्छन् ।’

बाल विवाहका घटना प्रशस्तै रहे पनि गाउँपालिकासम्म आइनपुग्ने उनले बताइन् । उनले भनिन्, ‘ बालविवाह भएको भन्दा थोरै घटना मात्र बाहिर आउँछन् । म महिला, बालबालिकामा कार्यरत भएको २ वर्ष हुन लागिसक्यो । शाखामा अहिलेसम्म एउटा पनि बाल विवाहको उजुरी आएको छैन ।’ 

बाल विवाहको घटना भएको थाहा भएमा सबैभन्दा पहिले वडा कार्यालयले बालबालिकालाई सम्झाउने गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख विरेन्द्र खड्का बताउँछन् । 

गरिबी, अशिक्षा, मोबाइलको दुरुपयोग, सामाजिक सञ्जालजस्ता कारणले बाल विवाह भइरहेको शिक्षा शाखा प्रमुख खड्काले बताए । बालविवाह पूर्ण रुपमा नियन्त्रण हुन अझै लामो समय लाग्ने उनी बताउँछन् । उनी भन्छन्, ‘पहिले बालविवाह धेरै हुन्थे । अहिले पहिलाको तुलनामा कम भएको छ । शून्यमा झार्न अझै धेरै मेहेनत गर्नु पर्नेछ ।’