close

प्रभावकारी बन्दै विशेषज्ञ क्लिनिक : हालसम्म ५३ हजार लाभाम्वित

प्रभावकारी बन्दै विशेषज्ञ क्लिनिक : हालसम्म ५३ हजार लाभाम्वित

Trulli
ADVERTISEMENT

कैलाली- धनगढी उपमहानगरपालिकाले स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउँदै लगेको छ । पछिल्लो समय उपमहानगरले ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ कार्यक्रम सञ्चालन गरेर नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाएको हो ।

उपमहानगरले आर्थिक अभावले उपचार गर्न नसक्ने गरिब तथा विपन्न नागरिकलाई घरदैलोमा पुगेर निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले गत आर्थिक वर्ष २०७९/८० को साउनदेखि सुरु गरेको उक्त कार्यक्रम प्रत्येक महिना १९ वटै वडामा सञ्चालन गर्दै आएको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए । वडा स्वास्थ्य क्लिनिकमा एकजना जनरल फिजिसियन र एकजना स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा दिँदै आइएको उनले बताए । 

चालु आवको साउनदेखि पुस मसान्तसम्म ६ महिनामा यक्त कार्यक्रममार्फत १७ हजार ५३१ जनाले निःशुल्क उपचार सेवा लिएका प्रमुख अवस्थीले जानकारी दिए । उनका अनुसार सो अवधिमा १३ हजार ९६३ महिला र तीन हजार ५६८ पुरुषले सेवा लिएका छन् ।

क्लिनिकमा प्रयोगशाला, अल्ट्रासाउण्ड, इसिजी, फिजिसियन, स्त्री तथा प्रसूति रोग, निजी अस्पतालसँगको समन्वयमा आँखा, दाँत, हाडजोर्नी, मानसिकलगायतका रोगसम्बन्धी सेवा दिइरहेको उपमहानगरले जनाएको छ । 

उपमहानगर प्रमुख गोपाल हमालले आर्थिक अवस्था कमजोर भएर स्वास्थ्य उपचारबाट वञ्चित भएका नागरिकलाई लक्षित गरी ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ कार्यक्रम सञ्चालन गरिएको बताए ।     गत आवमा वडा स्वास्थ्य क्लिनिकबाट ३५ हजार ६१९ महिला र १० हजार ७० पुरुष गरी ४५ हजार ६८९ जनाले सेवा लिएका प्रमुख हमालले जानकारी दिए ।