close

बालबालिकाको घरमा किन गाडियो रातो, पहेँलो र हरियो झण्डा

बालबालिकाको घरमा किन गाडियो रातो, पहेँलो र हरियो झण्डा

Trulli
ADVERTISEMENT

मोरङ - केराबारी गाउँपालिकाले पालिकाभित्रका बालबालिकाहरुको अनुगमन गरी रातो, पहेँलो र हरियो झण्डा राख्दै आएको छ । महिला स्वास्थ्य स्वयम्सेविकामार्फत अनुगमन गरी गाउँपालिकाले बालबालिकाको स्वास्थ्य अवस्थाको आधारमा झण्डा राख्दै आएको हो । 

गाउँपालिकाले बालबालिकाको स्वाथ्यलाई तीन प्रकारमा विभाजन गरी झण्डा राख्दै आएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख टोपप्रसाद चौलागाइका अनुसार पालिकामा कुपोषणलाई शून्यमा झार्नको लागि सो कार्यक्रम गर्दै आएको हो । कार्यक्रमअन्तर्गत सिकिस्त बालबालिकाको लागि रातो, मध्यमलाई पहेँलो र स्वस्थलाई हरियो झण्डा वितरण गरेको उनले पालिकाखबरलाई सुनाए । 

झण्डा वितरण गरेसँगै गाउँपालिकाले सिकिस्त बालबालिकाको उपचारको लागि स्वास्थ्य संस्थामा लैजाने, मध्यमलाई सरसफाइ तथा पोषणयुक्त खानेकुरासहित करिब दुई हजार रुपैयाँको सामग्री वितरण र स्वस्थ बालबालिकाको अभिभावकलाई जनचेतना तथा सचेत गराउँदै आएको उनले बताए । 

पाँच वर्षभित्र कुपोषणलाई शून्यमा झार्ने कार्यक्रम अन्तर्गत गाउँपालिकाले गत वर्षदेखि सो अभियान सञ्चालन हुँदै आएको उनले सुनाए । सो अनुरुप गाउँपालिकाले नियमित रुपमा अनुगमन गर्न पठाउने गरेको उनले जानकारी दिए । 

गाउँपालिकाले कार्यक्रमको लागि गत आवमा वडा नम्बर ५, ६, ७, ८ र ९ बाट एक/एक वटा टोल छनौट गरेको थियो । चालु आवमा बाँकी १, २, ३, ४ र १० वडाका एक एक वटा टोल छनौट गरेको उनले सुनाए । नमुना टोलको रुपमा छनौट गरिएको सो टोलका बालबालिका तथा हजार दिने आमाहरुलाई पौषणयुक्त खानेकुरा, आइरन चक्की, क्याल्सियम,  टीटि खोप वितरण गर्दै आएको उनले सुनाए । पूर्ण खोपका लागि समय समयमा खोप वितरण, अनुगमन तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिए । 

गाउँपालिकाले विपन्न, सामाजिक रुपमा पीछडिएका, दलित वर्ग र धेरै बालबालिका भएका समूदायलाई छनौट गरी कार्यक्रम सञ्चालन गर्दै आएको उनले सुनाए । जनचेतनामूलक कार्यक्रमको लागि गाउँपालिकाले टोल टोलमा महिला समूह गठन गरेको उनको भनाइ छ । 

‘नमुना टोल निर्माणका लागि गाउँपालिकाले खानेपानीको व्यवस्थापन, सरसफाइ तथा करेसाबारी निर्माणमा जोड दिएको छ । विद्यालय तथा बाल विकास केन्द्रमा पनि करेसाबारी र सरसफाईमा जोड दिएको छ,’ उनले थपे ।

धनी र गरिब परिवारमै कुपोषणको समस्या
गाउँपालिकामा हुने खाने वर्ग तथा नहुने हुने खाने वर्गमा कुपोषणको समस्या देखा परेको स्वास्थ्य शाखाका प्रमुख टोपप्रसाद चौलागाइले बताए । साथै गाउँपालिका ग्रामीण क्षेत्र तथा अशिक्षित भएकाले पनि समस्या बढेको उनले पालिकाखबरलाई सुनाए । 

ग्रामीण भेग भएकाले सबै स्थानीय बासिन्दालाई पोषण र खानपानबारे जानकारी नै नभएको उनको अनुभव छ । ‘स्थानीय बासिन्दालाई बालबालिकालाई के र कसरी खुवाउने भन्ने जानकारी छैन । पोषणबारे ज्ञान र सीप थाहा छैन,’ उनले भने । 

गाउँपालिकाभित्रका केही स्थानीय बासिन्दा आर्थिक रुपमा विपन्न भएकाले आवश्यक खाद्यान्न परिपूर्ति गर्न नसकेको उनले सुनाए । केही समुदाय खेत बारी भए पनि घरको करेसाबारीम तरकारी नलगाएर खोला किनारामा उम्रेकाे बस्तु टिपेर खाने र केही समुदाय जंक फुडको बढी प्रयोग हुने भएकाले कुपोषणको समस्या बढेको उनले सुनाए । 

सो अन्त्यको लागि गाउँपालिकाले रैथाने बाली प्रयोगमा बढवा दिन र विद्यालयमा जंक फुडको प्रयोग रोक्नको लागि कार्यक्रम सञ्चालन गर्दै आएको उनले सुनाए । संघीय सरकारले थप सहयोग गरे सो कार्यक्रम प्रभावकारी हुने उनको भनाइ छ । 

गाउँपालिकाको प्रवक्ता नारायणप्रसाद भुजेलका अनुसार सो कार्यक्रमको लागि गत वर्ष ५० लाख रुपैयाँ र चालु आवमा ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।