close

घरघरमा पुगेर क्षयराेगकाे खाेजी गर्दै मिर्चैया

घरघरमा पुगेर क्षयराेगकाे खाेजी गर्दै मिर्चैया

Trulli
ADVERTISEMENT

सिराहा - मिर्चैया नगरपालिकालाई क्षयरोगमुक्त स्थानीय तह घोषणा गर्नको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरपालिकालाई क्षयरोगमुक्त स्थानीय तह घोषणा गर्नको लागि विभिन्न संस्थासँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्दै आएको हो । 

नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख विजयकुमार महतोका अनुसार क्षयरोगमुक्त पालिका घोषणाका लागि पालिकास्तरीय तथा वडास्तरीय समिति गठन गर्दै आएको छ । सो समितिमार्फत स्थानीय बासिन्दालाई क्षयरोगबारे अभिमुखीकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनले पालिकाखबरलाई सुनाए । 

नगरपालिकाले क्षयरोग नियन्त्रणको लागि स्थानीय राजनीतिक दलको प्रतिनिधि, स्थानीय बासिन्दा, विद्यालय तथा विभिन्न क्षेत्रमा अभिमुखीकरण सञ्चालन गर्दै आएको उनको भनाइ छ । कार्यक्रमको लागि नगरपालिकाले चालु आर्थिक वर्षमा पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । अपुग रकम केन्द्रीय सरकारले व्यवस्थापन गर्ने उनले सुनाए । 

नगरपालिकाले क्षयरोग संक्रमितको संख्या पत्ता लगाउनका लागि चिकित्सकसहितको टोलीले वडा वडामा गएर स्वास्थ्य परिक्षण गर्दै आएको छ । पाका उमेरका व्यक्ति तथा संक्रमणका सम्भावनामा रहेको समूहलाई लक्षित गरी उपचार गर्दै आएको उनले सुनाए । 

उपचारमा एक्सरे तथा फिल्टरको लागि आवश्यक सामग्रीको समेत व्यवस्थापन गर्दै आएको उनको भनाइ छ । सोबाट क्षयरोग पत्ता नलागेमा जिन स्पोटको व्यवस्था गरिँदै आएको उनले बताए । सो कार्यक्रम पालिकाभित्रका १२ वटै वडामा सञ्चालित रहेको छ । 

नगरपालिकामा हाल २४ जना स्थानीय बासिन्दामा क्षयरोगको संक्रमण देखिएको छ । उनीहरु नगरपालिकाको सम्पर्कमा रहनुका साथै उपचारसमेत गर्दै आएको छ । 

नगरपालिकाले उनीहरुलाई आवश्यक पर्ने उपचार निःशुल्क वितरण गर्दै आएको छ । साथै पोषणको लागि विभिन्न सामग्रीसमेत वितरण गर्दै आएको उनले सुनाए । 

नगरपालिकाको मिर्चैया नगर अस्पतालबाट क्षयरोगसम्बन्धी सबै उपचार गर्दै आएको उनले सुनाए । आगामी केही समयमै नगरपालिकालाई क्षयरोगमुक्त पालिका घोषणा गरिने उनले बताए ।