close

लिङ्ग पहिचान गरी भ्रुण हत्या रोक्ने सिस्नेको नयाँ जुक्ति प्रभावकाली बन्ला ?

लिङ्ग पहिचान गरी भ्रुण हत्या रोक्ने सिस्नेको नयाँ जुक्ति प्रभावकाली बन्ला ?

Trulli
ADVERTISEMENT

रुकुम(पूर्व)– सिस्ने गाउँपालिकाले भ्रुण हत्या रोक्न नयाँ अवधारणा ल्याई कार्यान्वयन सुरु गरेको छ । आमाको पेटमै लिङ्ग पहिचान गरी भ्रुण हत्या रोक्न गाउँपालिकाले बालिका जन्माउनेलाई प्रोत्साहनभत्ता दिने नीतिअनुसार रकम दिन थालेको हो ।

गाउँपालिकाले हाल बालिका जन्मिनेबित्तिकै पाँच हजार रुपैयाँ जम्मा गर्न सुरु गरिसकेको छ । गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा ७७ जना बालिकाको खातामा ५ हजार रुपैयाँका दरले रकम जम्मा गरेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले नारी बचत खाताअन्तर्गत बालिका जन्मिए ५ हजार रुपैयाँ जम्मा गर्दै आएको स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक सुरेन्द्र यादवले जानकारी दिए । गाउँपालिकामा भ्रुणहत्याको संख्या बढ्न थालेपछि २०७६ सालदेखि बालिका जन्माउने अभिभावकलाई सो रकम दिँदै आएको हो । बालक जन्माउने अभिभावकले भने सो भत्ता नपाउने गाउँपालिकाले जनाएको छ । 

त्यस्तै,  गाउँपालिकाका अनुसार सो रकम बालिकाको खातामा जम्मा भए पनि बालविवाह गर्ने र कक्षा १२ सम्म नपढी बीचैमा विद्यालय छाड्नेले भने निकाल्न पाउँदैनन् । बालिकाले कक्षा १२ पास गरी २० वर्ष पूरा भएपछि मात्र सो रकमको सदुपयोग गर्ने अधिकार गाउँपालिकाले दिएको छ ।

उमेर पुगेपछि विवाह गरेमा महिलाको प्रजनन अंगमा समस्या नहुने भएकोले २० वर्षपछि मात्र निकाल्न मिल्ने नियम राखिएको स्वास्थ्य शाखाका प्रमुख सुरेन्द्र यादवको भनाइ छ । गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा ७७ जना र चालु आर्थिक वर्ष ०८०/०८१ मा ३५ जना बालिकाको नाममा पाँच हजार रुपैयाँका दरले जम्मा गरेको प्रमुख यादवले बताए । २०७६ सालदेखि हालसम्म लगभग ३०० जना बालिकाको खातामा रकम जम्मा गरेको छ ।

स्वास्थ्य शाखा प्रमुख यादवकाअनुसार गर्भवती भएका महिलाले ८ पटक स्वास्थ्य परीक्षण गरेको कागज, स्वास्थ्य संस्थामा सुत्केरी भएको र छोरी जन्मिए ३५ दिनभित्रमा अभिभावकले जन्मदर्ता गराएको हुनुपर्ने तथा आवश्यक कागजातसहित कृषि विकास बैंकमा खाता खोली बालिकाको खातामा एकपटक पाँच हजार रुपैयाँ जम्मा गर्दिने गरेको छ ।

कुनै कारणले बच्चाको मृत्यु भएमा सम्बन्धित वडाबाट सिफारिस ल्याई मृतकको अभिभावकलाई जम्मा गरेको रकम दिने गरेको उनको भनाइ छ । नारी बचतखाताअन्तर्गत बालिकाको खातामा रकम जम्मा गर्ने भएकोले गर्भवती महिलाले नियमित स्वास्थ्य परीक्षण गराएको, स्वास्थ्य चौकीमा र वर्थिङ सेन्टरमा बच्चा जन्माएको पाइएको उनले बताए । 

गाउँपालिकाअन्तर्गत ११ वटा वडा मध्येमा ८ वडामा स्वास्थ्य चौकी र ५ वटा वडामा वर्थिङ सेन्टर रहेको उनले बताए । अकालमा आमा नहोस र बालमृत्यु दर कम गर्न भएको उनको दावी छ ।

गाउँपालिकाले एम्बुलेन्स सेवा निशुल्क उपलब्ध गरेको छ । कुनै गर्भवती महिलालाई अप्रेसन गर्नुपरेमा स्वास्थ्य चौकीले दाङ, सुर्खेत काठमाडौँका अस्पतालले पठाउने गरेको छ । यसका लागि ४ लाख बजेट विनियोजन गरेको छ ।