close

गाउँघर क्लिनिक : ग्रामीण भेगमा उपचार गर्न सहज

गाउँघर क्लिनिक : ग्रामीण भेगमा उपचार गर्न सहज

Trulli
ADVERTISEMENT

उदयरपुर- उदयपुरगढी गाउँपालिकाले भौगोलिक रुपमा स्वास्थ्य संस्थादेखि टाढा रहेका स्थानीयका लागि गाउँघर क्लिनिक सञ्चालनमा ल्याएसँगै स्थानीयहरूको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्य चौकीसम्म पुग्न नसके पनि गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवाका लागि टोलमै स्वास्थ्यकर्मी खटाउदै आएको हो । 

गाउँपालिकाको स्वास्थ्य शाखाका अधिकृत जयनारायण यादवका अनुसार पालिकामा संघीय सरकार आउनुभन्दा पहिलेदेखि नै गाउँघर क्लिनिक सञ्चालनमा आएको थियो । सो क्लिनिकलाई गाउँपालिकाले हाल व्यवस्थित गरेर सञ्चालनमा ल्याइरहेको उनले पालिकाखबरलाई सुनाए । 

उनका अनुसार गाउँपालिकामा हाल २९ वटा गाउँघर क्लिनिक सञ्चालनमा रहेका छन् । सो स्वास्थ्य संस्थाको प्रत्येक महिनाको एक दिन खुल्ने उनको भनाइ छ । क्लिनिक सञ्चालन गर्नको लागि दुई जना स्वास्थ्यकर्मी आवश्यक औषधि तथा सामग्रीसमेत लिएर जाने उनले सुनाए । 

भवन रहेको क्लिनिकमा आवश्यक औषधि तथा सामग्रीहरु पहिल्यै नै व्यवस्थित हुने उनले बताए । उनका अनुसार गाउँपालिकााका २९ मध्ये १२ वटा क्लिनिकको भवन निर्माण भइसकेको छ । बाँकी केहीको भवन निर्माण भइरहेको र केही पहलमा रहेको उनले सुनाए ।

गाउँघर क्लिनिकबाट सामान्य उपचार, प्राथमिक उपचार, पोषणसम्बन्धी सेवा सञ्चालन हुने उनको भनाइ छ । करिब आधादेखि एक घण्टाको दूरीमा स्वास्थ्य पहुँच हुनुपर्ने मान्यतासहित गाउँपालिकाले सो क्लिनिक सञ्चालनमा ल्याइरहेको उनले सुुनाए । क्लिनिकको लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा चार लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।